लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास कमिटी बेलायतले निर्वाचनकालीन बाचापत्र अनुसार वंशजको नागरिकताको निरन्तरता दिन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपा प्रवास कमिटी बेलायतका उपसंयोजक कोलेश्वर ढकालले परराष्ट्रमन्त्री शिशिर खनाललाई एक ज्ञापनपत्र बुझाउँदै विदेशमा रहेका नेपालीहरूको हकहित र नागरिकताको निरन्तरता सहित विभिन्न मागहरू प्रस्तुत गरेका हुन्।
भेटघाटका क्रममा उपसंयोजक ढकालले निर्वाचन पूर्वको बाचापत्र अर्थात् नागरिक करार बमोजिम सरकारले विदेशमा रहेका नेपालीहरूको समस्या समाधान गर्नुपर्नेमा जोड दिए। उनले बाध्यताले विदेशी कागजात प्राप्त गरेका वा नगरेका सम्पूर्ण नेपालीका लागि वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने मुख्य माग राखेका छन्।
ज्ञापनपत्रमा वंशजको नागरिकताको निरन्तरताका साथै विदेशमा रहेका नेपालीहरूको पुँजीलाई एकीकृत गर्न ‘सार्वभौम डायस्पोरा फण्ड’ को तत्काल कार्यान्वयन हुनुपर्ने माग समेत गरिएको छ। त्यस्तै, गैरआवासीय नेपालीहरूको लगानीको सुरक्षा सुनिश्चित गर्दै भविष्यमा उनीहरूका लागि स्वदेश फिर्तीको अनुकूल वातावरण निर्माण गर्न र वैदेशिक रोजगारीलाई थप मर्यादित एवं सुरक्षित बनाउन सरकारसँग आग्रह गरिएको छ।
उक्त अवसरमा प्रवासी नेपालीहरूले भोग्नुपरिरहेका विविध समस्याहरूबारे परराष्ट्रमन्त्री खनाललाई प्रत्यक्ष अवगत गराइएको थियो। रास्वपा यूकेले यी विषयहरूमा यथाशक्य चाँडो उपयुक्त कानुनी व्यवस्था मिलाउन र त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न माग गरेको छ। समग्र विदेशिएका नेपालीहरूको भाग्य र भविष्यप्रति परराष्ट्र मन्त्रालय, सरकार र समग्र राज्य नै संवेदनशील बन्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।