काठमाडौँ । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठमाथि भइरहेको व्यवहार रोक्न माग गरेको छ । महासंघले हिजो सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार रहेको भन्दै निन्दा गरेको हो ।
विज्ञप्तिमा श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिनेजस्ता गतिविधि बढिरहेको जानकारी महासंघलाई गराएको उल्लेख छ ।
‘समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाइ छ’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको व्यवहारको महासंघ निन्दा गर्दछ ।’
महासंघले प्रेस विरोधी व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।
महासंघले पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न जोडदार मागसमेत गरेको छ ।