२० जेष्ठ २०८३, बुधबार
Follow Us

एनआरएनएमा महिला, दोस्रो पुस्ता र विज्ञलाई ७० प्रतिशत प्रतिनिधित्व दिने प्रस्ताव

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०८३, मंगलवार २३:३५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले संस्थामा महिला, दोस्रो पुस्ता तथा विज्ञहरूलाई ७० प्रतिशत प्रतिनिधित्व दिने प्रस्ताव अघि सारेका छन् ।

डा. शर्माले बुधबार साँझ जारी गरेको सूचनामा एनआरएनएको रि–ब्रान्डिङ तथा संस्थालाई अझ समावेशी, गतिशील र प्रभावकारी बनाउने उद्देश्यसहित उक्त प्रस्ताव गरिएको उल्लेख गरेका छन् ।

प्रस्तावअनुसार संघको हाल रिक्त रहेका पदहरूमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यहरूको मनोनयन गर्दा महिला, दोस्रो पुस्ता तथा विभिन्न क्षेत्रका विज्ञहरूको कम्तीमा ७० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।

गैरआवासीय नेपाली अभियानलाई सफल बनाउन इच्छुक दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई सम्बन्धित फाराम भरी आफ्नो रुचि व्यक्त गर्न डा. शर्माले आग्रह गरेका छन् ।

दोस्रो पुस्ताका गैरआवासीय नेपाली भन्नाले विदेशमा जन्मेर हुर्केका वा नेपालमा जन्मिएर पनि विद्यालयस्तरदेखि नै विदेशमा शिक्षा प्राप्त गरेका, ३० वर्ष ननाघेका व्यक्तिहरूलाई जनाउने वैधानिक व्यवस्था रहेको छ ।

गैरआवासीय नेपाली संघको दुईदिने बैठक आगामी जुन १३ देखि सुरु हुने भएको छ। उक्त बैठकमा संघका रिक्त विभिन्न पदहरूमा मनोनयन गर्ने तयारी रहेको छ।

धेरै पढिएको