२० जेष्ठ २०८३, बुधबार
Follow Us

जनसम्पर्क समिति अमेरिकाको संयोजकमा धनञ्जय नरसिंह केसी नियुक्त

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०८३, मंगलवार २३:४४

काठमाडौं । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति अमेरिकाको संयोजकमा धनञ्जय नरसिंह केसीलाई नियुक्त गरेको छ। पार्टी सभापति गगनकुमार थापाले विधान बमोजिम केसीलाई समितिको अधिवेशन सम्पन्न गर्ने मुख्य कार्यादेश (Mandate) सहित यो नयाँ जिम्मेवारी सुम्पिनुभएको हो।

पार्टी केन्द्रीय कार्यालयद्वारा जारी पत्र अनुसार, अमेरिकामा लामो समयदेखि जनसम्पर्क समितिको अधिवेशन हुन सकेको थिएन। यसअघिका अध्यक्ष गोरखबहादुर विष्ट ‘आनन्द’ नेपालको २०८२ को आम निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बनेको र हाल नेपालमै पार्टीको संगठन र अभियानमा सक्रिय रहेका कारण अमेरिकामा सांगठनिक कार्य अघि बढाउन कठिन भएको पत्रमा उल्लेख छ।

निवर्तमान अध्यक्ष विष्टले पुर्याएको योगदानको कदर गर्दै पार्टीले अबको अधिवेशन प्रक्रियालाई तिव्रता दिन केसीलाई संयोजक तोकेको हो। नवनियुक्त संयोजक केसीले तोकिएको समयभित्रै सबै पक्षसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्ने र संगठनलाई थप सुदृढ, गतिशील एवं परिणाममुखी बनाउने विश्वास पार्टीले लिएको छ।

पार्टी सभापति थापाले केसीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको विधान बमोजिम अघि बढ्न निर्देशन समेत दिनुभएको छ।

धेरै पढिएको