काठमाडौँ । भारतमा विभिन्न प्रलोभनमार्फत पुर्याइएका र गैरकानुनी तथा अनुचित गतिविधिमा संलग्न गराइएको अवस्थामा रहेका नेपाली नागरिकहरूको ठुलो समूहलाई उद्धार गरी नेपाल फर्काइएको छ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतको विभिन्न स्थानमा गरिएको समन्वित प्रहरी कारबाहीपछि ४५३ जना नेपाली नागरिकको उद्धार सम्पन्न भएको हो। उद्धार गरिएकामध्ये ११५ जना महिला र ३३८ जना पुरुष रहेका छन्।
उद्धार कार्य भारत सरकारका सम्बन्धित निकाय तथा गैरसरकारी संस्थासँगको सहकार्यमा सम्पन्न गरिएको दूतावासले जनाएको छ। उत्तर प्रदेशको कुशीनगर क्षेत्रका विभिन्न स्थानमा गरिएको कारबाहीका क्रममा उनीहरू नेटवर्किङ फ्रडसँग सम्बन्धित गतिविधिमा फसेको प्रारम्भिक निष्कर्ष समेत उल्लेख गरिएको छ।
उद्धार गरिएका सबै व्यक्तिलाई गत शनिबार नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाइएको हो। त्यसमध्ये केही व्यक्तिमाथि शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
रुपन्देही प्रहरीका अनुसार उद्धार गरिएकामध्ये ६ जना महिलासहित १९ जनालाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
दूतावासले उद्धार अभियान सफल बनाउन सहयोग गर्ने भारत सरकारका निकाय, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी तथा अन्य सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ।