८ असार २०८३, सोमबार
Follow Us

रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणसँगै भोलिबाट सुरु हुने

नेपालब्रिटेन संवाददाता
८ असार २०८३, सोमबार १५:४९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत आजका लागि तय गरिएको बन्दसत्र स्थगित भएको छ। प्रतिनिधि व्यवस्थापनमा प्राविधिक ढिलाइ भएपछि महाधिवेशनको मुख्य कार्यसूची मानिएको बन्दसत्र स्थगित गरिएको हो।

पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले मंगलबार एक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड छपाइ गर्ने कार्यमा सोचेभन्दा बढी समय लागेकाले आजको कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिएको छ।

जारी सूचनाअनुसार, आज साँझ ७ बजेदेखि नै प्रिन्ट भइसकेका प्रतिनिधि कार्ड वितरण सुरु गरिने छ भने बाँकी कार्डहरू भोलि बिहान ७ बजेदेखि वितरण गरिनेछ। सबै प्रतिनिधिहरूले कार्ड प्राप्त गरिसकेपछि मात्र बन्दसत्रको औपचारिक कार्यक्रम सुरु हुनेछ।

पार्टीले महाधिवेशनलाई आफ्नो सर्वोच्च निकायका रूपमा लिएको भन्दै प्रतिनिधि व्यवस्थापन प्रक्रियामा कुनै विवाद नहोस् भन्ने कुरामा आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै, यस ढिलाइका कारण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति पार्टीले क्षमायाचना गर्दै धैर्यता र सहयोगका लागि आग्रह गरेको छ।

धेरै पढिएको