१२ असार २०८३, शुक्रबार
Follow Us

कम्युनिस्ट नेता मोहन विक्रम सिंह बेलायत भ्रमणमा

नेपालब्रिटेन संवाददाता
११ असार २०८३, बिहीबार २१:३२

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत भ्रमणका क्रममा बेलायती सांसद जेरेमी कोर्बिनसँग बेलायतको संसद भवनमा भेटवार्ता गर्नुभएको छ।

उक्त भेटवार्तामा वामपन्थी नेता प्रकाश शर्मा ज्ञवाली, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य तथा पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेशका सहसंयोजक रण खाती क्षेत्री, प्रवासी एकता मञ्च यूकेकी संयोजक बिमला लिम्बु, वामपन्थी नेता तोयनाथ रिजाल तथा एनआरएनए इङ्ग्ल्याण्ड राज्य परिषद्का निवर्तमान अध्यक्ष शम्भु प्रसाद अर्यालले सहभागिता जनाउनुभएको थियो।

एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीको पहलमा आयोजित उक्त भेटमा नेपाल र बेलायतमा रहेका नेपाली समुदाय तथा वाम आन्दोलनसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो।

भेटका क्रममा सांसद जेरेमी कोर्बिनले बेलायतमा बसोबास गर्ने नेपाली समुदाय, विशेषगरी ब्रिगेड अफ गोर्खासँग सम्बन्धित नेपालीहरू, श्रमिक वर्ग तथा निम्न आय भएका समुदायले भोगिरहेका समस्याप्रति चासो व्यक्त गर्नुभयो। उहाँले नेपाली समुदायका मुद्दाहरूलाई नजिकबाट बुझी समाधानका लागि सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

छलफलका क्रममा कोर्बिनले नेपालको वाम आन्दोलनको वर्तमान अवस्था तथा विभिन्न कम्युनिस्ट शक्तिहरूबीच एकताको सम्भावनाबारे जिज्ञासा राख्नुभयो। उहाँले श्रमिक वर्ग, निम्न आय भएका समुदाय तथा उत्पीडित जनसमुदायको हकहितका लागि वाम आन्दोलनले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

सांसद कोर्बिनले नेपालको वाम आन्दोलनलाई एकीकृत र सशक्त बनाउन आवश्यक संवाद र सहकार्यमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा नेपाल भ्रमण गरी सहजीकरणकारी भूमिका निर्वाह गर्न सकिने संकेत समेत दिनुभएको बताइएको छ। साथै, आगामी दिनमा ह्यारो क्षेत्रमा विस्तृत छलफल आयोजना गर्ने प्रस्ताव पनि उहाँले राख्नुभएको थियो।

भूतपूर्व विद्यार्थी नेता, बेलायतस्थित वामपन्थी अभियन्ता तथा जडीबुटी अनुसन्धानकर्ता प्रकाश शर्माले आफ्नो लामो समयदेखिको पहल तथा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीको समन्वयमा मोहन विक्रम सिंह र जेरेमी कोर्बिनबीचको भेट सम्भव भएको जानकारी दिनुभयो। उहाँका अनुसार उक्त भेटको उद्देश्य नेपाल र बेलायतमा रहेका वामपन्थी शक्तिहरूबीच संवाद, सहकार्य र एकताको सम्भावनालाई अघि बढाउनु थियो।

नेपालमा पनि विभिन्न वामपन्थी घटकहरूको नेतृत्व तहमा संवाद र छलफललाई अगाडि बढाउने क्रममा लन्डनबाटै प्रकाश शर्मा ज्ञवालीले सक्रिय तथा घनीभूत पहल गर्दै आउनुभएको छ।

धेरै पढिएको