लण्डन । बेलायतका सरकारी विद्यालयहरूको पाठ्यक्रममा नेपालको भूकम्पबारे अध्यापन गराउन थालिएको छ।
जिसीएसई, इडिएक्सेल (Edexcel) लगायतका बोर्डअन्तर्गत सञ्चालन हुने परीक्षाका लागि तयार गरिएको भूगोल विषयको पाठ्यक्रममा सन् २०१५ मा नेपालमा गएको महाभूकम्पबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले यसलाई समावेश गरिएको हो।
पाठ्यक्रममा भूकम्पले पारेका प्रारम्भिक प्रभाव, आपतकालीन प्रतिक्रिया (इमर्जेन्सी रेस्पोन्स), तथा दीर्घकालीन असरसम्बन्धी विषयहरू समेटिएका छन्। साथै, उक्त भूकम्पमा करिब ९ हजार जनाको ज्यान गएको, २२ हजारभन्दा बढी घाइते भएको र झन्डै ८ लाख घर ध्वस्त भएको उल्लेख गरिएको छ। करिब ५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको तथा करिब २० लाख मानिसहरू सुरक्षित पिउने पानीबाट वञ्चित भएको विवरण पनि समावेश गरिएको छ।
पाठ्यक्रममा भूकम्पपछिको तत्कालीन उद्धार तथा राहत कार्यमा भारत र चीनले सहयोग गरेको उल्लेख छ। पुनर्निर्माणका लागि विश्व बैंकले ५०० मिलियन अमेरिकी डलर सहयोग गरेको र नेपाल–तिब्बत सडक दुई वर्षसम्म बन्द रहेको तथ्य पनि उल्लेख गरिएको छ।
जिसीएसई परीक्षा बेलायतको विद्यालय शिक्षामा महत्वपूर्ण परीक्षा मानिन्छ।



