१४ असार २०८३, आईतवार
Follow Us

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

नेपालब्रिटेन संवाददाता
१४ असार २०८३, आईतवार १२:०५

झापा । आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएका छन् । पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यक्रममा १२९ वटा रेडियोमध्ये ४४ वटा बन्द भएको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा बन्द भएको बताए । उनले कार्यक्रममा आर्थिक अस्थिरता र बजार अभावका कारण रेडियोसहितका सञ्चारमाध्यम बन्द हुन थालेको सम्मेलनमा प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेका छन् ।

उनले यहाँका सञ्चारमाध्यमलाई प्रोत्साहन गर्न कोशी प्रदेश सरकारले आदिवासी, जनजाति र लोपोन्मुख समुदायले मातृभाषामा सञ्चालन गरेका मिडियालाई विशेष सहयोगको नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्न आवश्यक देखिएको बताए ।

प्रदेशको पत्रकारिता क्षेत्रमा अभूतपूर्व अवसर र गम्भीर चुनौतीको दोबाटोमा उभिएको हुँदा पेसागत असुरक्षा र प्रविधिगत चुनौतीहरूलाई सही नीति र तत्परताका साथ सम्बोधन गर्न सकिए मात्र मोफसलको पत्रकारिता अझ सशक्त र आत्मनिर्भर बन्नसक्ने उनको भनाइ छ ।

विश्वसनीयता र स्वतन्त्रतालाई कायम राख्दै आधुनिक डिजिटल प्रविधिसँग अनुकूलन हुनसके कोशी प्रदेशको पत्रकारिता क्षेत्र मुलुककै लागि एक अनुकरणीय र उदाहरणीय नमुना बन्नसक्ने उनले बताए ।

कोशी प्रदेशमा नियमित प्रकाशित पत्रपत्रिका ९६ वटा रहेका छन् । जसमा दैनिक १७ वटा, साप्ताहिक ७३ वटा, मासिक चार वटा, द्वैमासिक एक र त्रैमासिक एक रहेका छन् ।

धेरै पढिएको