१५ असार २०८३, सोमबार
Follow Us

ओरालो लाग्यो सेयर बजार, कारोबार रकमसमेत घट्यो

नेपालब्रिटेन संवाददाता
१५ असार २०८३, सोमबार ११:०८

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार छैटौँ कारोबार दिन पनि घटेर बन्द भएको छ।

गत साताभर निरन्तर ओरालो लागेको बजारले यो साताको पहिलो कारोबार दिन सोमबार पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १६.५४ अंकले घट्दै २६३२ अंकमा कायम भएको छ। यसअघि गत साताको सोमबार १.४६ अंक, मंगलबार २६.१७ अंक, बुधबार १४.४६ अंक, बिहीबार ८.५० अंक र शुक्रबार २ अंकले बजार घटेको थियो।

कारोबार अवधिभर बजार अधिकांश समय नकारात्मक प्रवृत्तिमा देखिएको थियो। नयाँ कम्पनी ऐन, २०८३ को मस्यौदामा सेयर खरिद–बिक्री वा हस्तान्तरणका क्रममा हक प्राप्त गर्ने पक्षबाट १ प्रतिशत हस्तान्तरण शुल्क लिने प्रस्ताव समेटिएको विषयले पनि लगानीकर्ताको मनोबलमा प्रभाव पारेको बजार विश्लेषण गरिएको छ। यद्यपि सम्बन्धित पक्षले उक्त प्रस्ताव कार्यान्वयनमा नआउने र फिर्ता हुने स्पष्ट गरिसकेका छन्।

यस दिन सेयर कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। अघिल्लो दिन ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ।

धेरै पढिएको