१६ असार २०८३, मंगलवार
Follow Us

लण्डन हन्स्लो वेस्टमा चक्कु प्रहारः २२ वर्षीय युवकको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ असार २०८३, मंगलवार २०:५३

लण्डन । लन्डनस्थित हाउन्स्लो वेस्ट क्षेत्रमा भएको चक्कु प्रहारको घटनामा एक २२ वर्षीय युवकको मृत्यु भएको छ । उक्त घटना मंगलबार, जुन ३० को बिहान करिब १.४७ बजे बाथ रोड र ग्रेट साउथ वेस्ट रोडको जंक्शनमा भएको हो।

मेट्रोपोलिटन प्रहरीले दिएको जानकारी अनुसार, चक्कु प्रहार भएको खबर पाएपछि प्रहरी र लन्डन एम्बुलेन्स सेवा घटनास्थलमा पुगेका थिए। त्यहाँ पुगेपछि गम्भीर घाइते अवस्थामा भेटिएका ती युवकलाई बचाउन आपतकालीन सेवाले प्रयास गरे पनि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको थियो।

प्रहरीले मृतकका आफन्तलाई जानकारी दिइसकेको र विशेष तालिमप्राप्त अधिकारीमार्फत उनीहरूलाई सहयोग प्रदान गरिरहेको जनाएको छ। हालसम्म यस घटनामा कुनै पनि व्यक्तिलाई पक्राउ गरिएको छैन।

घटनापछि उक्त क्षेत्र वरपर ठूलो परिमाणमा प्रहरी घेरा कायम गरिएको छ। फरेन्सिक टोलीले अनुसन्धान गरिरहेको अवस्थामा सडकहरू बन्द गरिएका थिए ।

ट्रान्सपोर्ट फर लन्डनका अनुसार, कम्तीमा चारवटा बस रुटहरू हालका लागि डाइभर्ट गरिएको छ र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रहरीले घटनाबारे जानकारी भएका व्यक्तिहरूलाई अगाडि आउन अपिल गरेको छ र अनुसन्धान जारी रहेको जनाएको छ।

धेरै पढिएको