१७ असार २०८३, बुधबार
Follow Us

‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’ असार २६ मा हुँदै, जोन राईदेखि दिपक बज्राचार्यसम्मको प्रस्तुति रहने

नेपालब्रिटेन संवाददाता
१७ असार २०८३, बुधबार ०३:४१

‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’ को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ । आम सङ्गीत पारखीहरूलाई समेटिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसँगै Xtreme Energetic Performer of the Year समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुने कार्यक्रमबारे विस्तृत जानकारी दिएको छ । कन्सर्टमा जोन एण्ड द लोकल्सदेखि दिपक बज्राचार्यसहित अन्य चर्चित कलाकारहरू उजन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामाको प्रस्तुति रहनेछ ।

यस वर्ष कुल १४ साङ्गीतिक विधामा अवार्ड दिइनेछ । अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पार्श्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह, उत्कृष्ट हिपहप र आर.एन.बि तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन् । त्यस्तै गीत सङ्गीतसहित कलाको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तित्वलाई १ लाख रुपैयाँ राशिको लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा स्रोताको समेत सहभागिता रहने पिपुल्स च्वाइस अवार्ड पनि रहनेछ । यसका लागि सहभागीले ई-सेवामार्फत भोट गर्नुपर्नेछ । सर्वाधिक भोट प्राप्त गर्ने गीत र स्रष्टालाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ ।

२०८२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूबाट विभिन्न विधाअन्तर्गत उत्कृष्टमध्ये ५ जनाको मनोनयनका लागि तीन जनाको जुरी बनाइएको थियो । विभिन्न विधाका मनोनयन सोही जुरीको निर्णयअनुसार गरिएको हो ।

भव्य साङ्गीतिक महोत्सवको रूपमा रहने यस कार्यक्रममा सयभन्दा बढी कलाकारहरू सहभागी हुनेछन् । कान्तिपुर मिडिया ग्रुपका कर्पोरेट एण्ड इभेन्ट म्यानेजर सिम्रन श्रेष्ठले यो अवार्ड नेपाली सङ्गीत उद्योगको साझा थलो भएको बताउँदै यसले समग्र नेपाली सङ्गीतको प्रवर्धन गर्ने विश्वास व्यक्त गरिन् ।

कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले यो अवार्ड नेपाली सङ्गीत उद्योगको साझा थलो भएको उल्लेख गरे ।

धेरै पढिएको