१७ असार २०८३, बुधबार
Follow Us

वंशजको नागरिकताको निरन्तरतामा ‘क्रान्तिकारी निर्णय’ आउँदैछ: असिम शाह

नेपालब्रिटेन संवाददाता
१७ असार २०८३, बुधबार ०६:३८

लण्डन । प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले वंशजको आधारमा प्राप्त नागरिकताको निरन्तरता सुनिश्चित गर्न सरकारले छिट्टै ‘क्रान्तिकारी निर्णय’ गर्ने संकेत दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभागको पहलमा मंगलबार आयोजित छलफल कार्यक्रममा बोल्दै शाहले प्रवासी नेपालीका दीर्घकालीन माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे। उक्त जानकारी विभागको बेलायत शाखाका अध्यक्ष पवन शर्माले दिएका हुन्।

भेटमा सहभागी टोलीले विदेशी नागरिकता वा पासपोर्ट लिएका पहिलो पुस्ताका नेपालीलाई वंशजको आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता दिनुपर्ने विषयमा स्पष्ट धारणा र ठोस सुझाव प्रस्तुत गरेको थियो। साथै, संविधान संशोधनका लागि बुझाइएको प्रस्तावमा पनि यही व्यवस्था समेट्न जोड दिइएको शर्माले बताए।

प्रतिक्रियामा सल्लाहकार शाहले वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै “यो विषयमा क्रान्तिकारी निर्णय आउँछ” भन्ने आत्मविश्वासपूर्ण आश्वासन दिएका थिए। संविधान संशोधनमार्फत यो मुद्दा समाधान हुनेमा आफूहरू आशावादी रहेको शर्माको भनाइ छ।

यो व्यवस्था कार्यान्वयनमा आएमा विदेशमा रहेका लाखौँ नेपालीको वर्षौंदेखिको अपेक्षा पूरा हुने मात्र होइन, नेपालमा लगानी, ज्ञान, सीप र अनुभवको प्रवाह तीव्र भई आर्थिक विकासका नयाँ सम्भावनाका ढोका खुल्ने विश्वास प्रवासी नेपालीहरूले व्यक्त गरेका छन्।

धेरै पढिएको