लन्डन। नेपाल र बेलायतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘युके–नेपाल व्यापार तथा लगानी फोरम डिनर’ सम्पन्न भएको छ।
कार्यक्रममा ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्टले नेपाल र बेलायतबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता फोरमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपाली तथा बेलायती व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र लगानीका नयाँ अवसर पहिचान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल–बेलायतबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउन दूतावास निरन्तर प्रयासरत रहेको बताए। उनले निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख वक्ताका रूपमा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन तथा कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालमा लगानीको सम्भावना, व्यापार विस्तारका अवसर तथा दुई देशबीचको आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विषयमा धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष इन्द्र गिरीले गरेका थिए।
फोरममा नेपाल र बेलायतका कूटनीतिक प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, च्याम्बरका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार यस्ता फोरमले दुई देशबीचको द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवर्द्धन, व्यवसायिक सञ्जाल विस्तार तथा बेलायतमा रहेका नेपाली समुदायको आर्थिक भूमिकालाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ।
ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सले नियमित रूपमा व्यापारिक भेटघाट, लगानी फोरम तथा सञ्जाल विस्तारसम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रममार्फत नेपाल–बेलायत आर्थिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।






