१८ असार २०८३, बिहीबार
Follow Us

आधुनिक चिकित्सा प्रणाली भन्दा पनि उत्तम हो “साउण्ड हिलिङ” : श्री बालेश्वरी देवी

नेपालब्रिटेन संवाददाता
१८ असार २०८३, बिहीबार १४:३२

श्री बालेश्वरी देवी एक अनुभवी साउण्ड हिलर हुनुहुन्छ। उहाँले काठमाण्डौँको लाजिम्पाटस्थित नेपाल हिलिङ तथा मेडिटेशन सेन्टर सञ्चालन गर्दै आउनुभएको छ भने हाल बेलायतमा पनि आफ्नो आध्यात्मिक तथा उपचार सेवा विस्तार गर्नुभएको छ। उहाँले भारतको वृन्दावनमा श्रीमद्भागवत कथा अध्ययन गर्नुभएको छ र निकट भविष्यमा कथा वाचन गर्ने तयारीमा हुनुहुन्छ। विगत पाँच वर्षदेखि साउण्ड हिलिङ सेवा प्रदान गर्दै आउनुभएकी उहाँले विभिन्न स्वास्थ्य समस्या भएका सैयौं व्यक्तिहरूलाई सेवा प्रदान गरिसक्नुभएको छ। यसै सन्दर्भमा लण्डनमा उहाँसँग गरिएको विशेष कुराकानी:-


वृन्दावनमा कति समय बस्नुभयो?

मैले वृन्दावनमा करिब एक वर्ष अध्ययन,साधना र आत्मिक अभ्यासमा बिताएँ। त्यहाँ बस्दा संस्कृत,वैदिक ज्ञान,ध्यान,योगको गहिरो अध्ययन गर्ने अवसर प्राप्त भयो। वृन्दावनको पवित्र आध्यात्मिक वातावरणले मेरो जीवनदृष्टि,सोच र सेवा भावलाई अझ सुदृढ बनायो। हिलिङ सेवा भने म पहिलेबाटै गर्दै आएकी थिएँ।

साउण्ड हिलिङ थेरापी के हो? यसले कसरी काम गर्छ?
साउण्ड हिलिङ थेरापी प्राचीन चिकित्सा उपचार पद्धति हो। हाम्रो शरिरमा सातवटा उर्जाका केन्द्रहरु छन्,जसको आधार ध्वनि, कम्पन र ऊर्जा सन्तुलनमा आधारित हुन्छ। हाम्रो शरीर,मन र चेतनामा ध्वनिको गहिरो प्रभाव पर्ने भएकाले मन्त्र,साउण्ड थेरापी बाउल तथा कम्पनमार्फत शरीरको ऊर्जा प्रणालीलाई सन्तुलनमा ल्याइन्छ। यसले तनाव कम गर्ने,मानसिक शान्ति प्रदान गर्ने र शरीरको प्राकृतिक उपचार प्रणालीलाई सक्रिय बनाउने कार्य गर्छ।

कस्ता स्वास्थ्य समस्यामा यो थेरापी उपयोगी हुन्छ?

मानसिक तनाव,चिन्ता,डर,थकान,डिप्रेसन,एन्जाइटी,अनिद्रा, शरिरका बिभिन्न भागमा भएको ब्लकेजहरु तथा शारीरिक असन्तुलनजस्ता समस्याबाट ग्रसित व्यक्तिहरूका लागि यो थेरापी अत्यन्त उपयोगी हुन्छ,यद्यपि स्वस्थ्य मानिसहरुको लागि पनि अतिप्रभावकारी हुन्छ। यसले मानसिक र शारीरिक दुबै पक्षमा सकारात्मक प्रभाव पार्छ।

यो कस्तो प्रकारको उपचार पद्धति हो?
यो प्राचीन चिकित्सा उपचार पद्धति हो,जुन आधुनिक चिकित्सा प्रणालीसँग समानान्तर रूपमा लोकप्रिय बन्दै गएको छ। साउण्ड बाउलबाट निस्कने ध्वनि र कम्पनले शरीरको ऊर्जा सन्तुलन मिलाएर उपचारमा सहयोग पुर्‍याउँछ। यद्यपि यसलाई सहायक उपचारका रूपमा लिनु उपयुक्त हुन्छ।

यसको उत्पत्ति कहाँबाट भएको हो?
ध्वनि उपचार पद्धतिको उत्पत्ति सौर्य मण्डलको उत्पत्तिसंगै भएको मान्यता छ। साथै यसको उद्धगम स्थल नेपालनै हो। भगवान गौतम बुद्धले समेत ध्यानका क्रममा ध्वनिको प्रयोग गर्नुभएको उल्लेख पाइन्छ र बौद्ध परम्परामा आज पनि सिङ्गिङ बाउलको प्रयोग लोकप्रीय छ।

कति प्रकारका हिलिङ पद्धति प्रयोग गरिन्छ ?
मुख्य रूपमा दुई प्रकार हिलिङ हुन्छ। चक्र र फिजिकल हिलिङ साथै साउण्डबाथको रुपमा पनि हिलिङ बाउलको प्रयोग गरिन्छ। चक्र हिलिङमार्फत शरीरका (सातवटा उर्जाकेन्द्र) चक्रहरूलाई सन्तुलनमा ल्याइन्छ,जसले मानसिक शान्ति र आध्यात्मिक उन्नति प्रदान गर्छ। फिजिकल हिलिङमार्फत शरीरका विभिन्न समस्या कम गर्न सहयोग पुर्‍याइन्छ।

सात चक्रहरू के के हुन्?
मूलाधार,स्वाधिष्ठान,मणिपुर,अनाहत,विशुद्ध,आज्ञा र सहस्रार—यी सात चक्रहरू मानव शरीरका प्रमुख ऊर्जा केन्द्र हुन्, जसको सन्तुलनले सम्पूर्ण स्वास्थ्यमा प्रभाव पार्छ।

अन्य रोगहरूमा यसले कसरी सहयोग गर्छ?
चक्र हिलिङले शरीरमा ऊर्जा प्रवाह सन्तुलित राख्दै सम्भावित रोगहरूको जोखिम घटाउन मद्दत गर्छ। यसले रक्तसञ्चार सुधार्ने, मानसिक शान्ति दिने तथा शरीरलाई विश्राम प्रदान गर्ने कार्य गर्छ।

कति समयसम्म थेरापी लिनु पर्छ?
गम्भीर समस्या भएका व्यक्तिहरूले दैनिक एक सत्रका दरले कम्तीमा सात सत्र लिन अनिवार्य हुन्छ। सामान्य स्वास्थ्य सन्तुलनका लागि एक सत्र (सेसन) पनि पर्याप्त हुन सक्छ। प्रत्येक सत्र करिब ४५ मिनेटदेखि १ घण्टा सम्मको हुन्छ।

स्वस्थ जीवनका लागि के सुझाव दिनुहुन्छ?

स्वस्थ जीवनका लागि शरीर,मन र आत्माबीच सन्तुलन अत्यावश्यक हुन्छ। नियमित योग,ध्यान,व्यायाम,सन्तुलित आहार र सकारात्मक सोचले जीवनलाई स्वस्थ बनाउँछ। साथै सेवा,करुणा र आध्यात्मिक साधनाले जीवनलाई अझ अर्थपूर्ण बनाउँछ। नियमित अभ्यासले राम्रो परिणाम दिन्छ। सात्विक भोजन,पर्याप्त पानी र सकारात्मक जीवनशैली अपनाउनु आवश्यक हुन्छ।

पश्चिम लण्डनमा हिन्दु मन्दिर निर्माणको अवधारणा कसरी आयो?
पश्चिम लन्डनमा हिन्दु मन्दिर निर्माणको आवश्यकता हाम्रो संस्कृति,परम्परा र आध्यात्मिक पहिचानको संरक्षणका लागि हुनेछ। विशेषगरी भारत र नेपालका हिन्दु समुदायका नयाँ पुस्तालाई आफ्नो धर्म,संस्कार र मूल्यसँग जोडेर राख्न मन्दिर महत्वपूर्ण केन्द्र बन्न सक्छ। यो केवल पूजा गर्ने स्थान मात्र नभई सांस्कृतिक संरक्षण,सामुदायिक एकता र आध्यात्मिक शिक्षाको केन्द्र बनाउदा राम्रो हुन्छ।

श्रीमद्भागवत कथा वाचन कहिलेदेखि सुरु गर्नुहुन्छ?
श्रीमद्भागवत कथा अध्ययन गरि सकेको भए पनि यसको लागि गहिरो तयारी आवश्यक हुन्छ। विभिन्न स्थानबाट अनुरोधहरू आइरहेका छन्। व्यक्तिगत तथा पारिवारिक व्यवस्थापन पूरा गरेपछि उचित तयारीसहित कथा वाचन सुरु गर्ने योजना छ।

धेरै पढिएको