२० असार २०८३, शनिबार
Follow Us

बालेन र सुदनसँग एमालेले एक–एक हिसाव राखेको छः महेश बस्नेत

नेपालब्रिटेन संवाददाता
२० असार २०८३, शनिबार १२:४२

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्य स्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएका छन् ।

शनिवार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको दाबी गरेका हुन् । सचिव बस्नेतले गत वर्षको २३ र २४ गतेका घटनाहरू नेपालमाथिको आक्रमण भएको उल्लेख गर्दै त्यसमा विभिन्न डिजिटल च्यानल र संस्थाहरूको संलग्नता रहेको आरोप लगाए ।

उनले डिस्कोर्ड च्यानल, ‘हामी नेपाली बर्बरा फाउण्डेसन’ र ‘अमेरिकन यूथ काउन्सिल’ जस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा परिचालित भएको जिकिर गरे । ती माध्यमहरूबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योगहरू जलाउने जस्ता हिंसात्मक गतिविधि सिकाउने कार्य गरिएको उनको भनाइ छ ।

सरकारले पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण ढंगले आधारहीन आरोप लगाएको बस्नेतले बताए । उपाध्यक्ष पौडेलमाथि लगाइएको जग्गा र उद्योगको शेयरसम्बन्धी आरोपहरू निराधार रहेको भन्दै उनले यस्ता गतिविधिको एमालेले राजनीतिक ‘हिसाबकिताब’ गर्ने चेतावनी दिए ।

पार्टीले सुरु गरेको जागरण अभियानमार्फत यी तमाम भ्रमहरूबारे सुरुमा पार्टीका नेता तथा कार्यकर्ता र त्यसपछि आम जनतालाई स्पष्ट पार्दै लैजाने एमालेको योजना रहेको उनले बताए । उनले भ्रमको खेती गर्नेहरू विरुद्ध पार्टी पंक्ति वैचारिक र सांगठनिक रूपमा सशक्त ढंगले प्रस्तुत हुने उद्घोष समेत गरे ।

धेरै पढिएको