२६ असार २०८३, शुक्रबार
Follow Us

गणेश नेपाली मृत्यु घटना : तीन नगर प्रहरी नियन्त्रणमा, सोधपुछ जारी

नेपालब्रिटेन संवाददाता
२६ असार २०८३, शुक्रबार ०७:४७

काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि घाइते भएका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले काठमाडौँ महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिहरूमा दुई जना महिला र एक जना पुरुष नगर प्रहरी रहेका छन्। उनीहरूसँग घटनाको विवरण र सम्भावित कारणबारे जानकारी संकलन गर्ने उद्देश्यले सोधपुछ भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार हाल उनीहरूलाई कालीमाटी प्रहरी वृत्तमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

मुगुका गणेश नेपालीले बिहीबार दिउँसो करिब साढे १ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

धेरै पढिएको