१९ श्रावण २०८३, मंगलवार
Follow Us

‘गौँथली’ हेर्न सिभिल मल पुग्यो एनआरएनए नेतृत्व टोली, बेलायतमा शुक्रबारदेखि प्रदर्शन हुने

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०८३, मंगलवार १८:४८

लण्डन — बेलायतमा कार्यरत निर्देशक डा. कपिल रिजालद्वारा निर्देशित नेपाली चलचित्र ‘गौँथली’ हेर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय टोली काठमाडौँस्थित सिभिल मल पुगेको छ।

सोमबार सिभिल मलस्थित सिनेमा हलमा पुगेर एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसहितको टोलीले चलचित्रको विशेष शो अवलोकन गरेको हो। टोलीमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राई, पूर्वअध्यक्ष कुल आचार्य, पूर्वआइसीसी सदस्य पशुपति भण्डारीलगायतका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो। हल पुगेका टोलीलाई निर्देशक डा. रिजाल स्वयंले स्वागत गरेका थिए।

सामाजिक विषयवस्तुलाई भावनात्मक ढङ्गले प्रस्तुत गरिएको चलचित्र ‘गौँथली’ लाई निर्देशक डा. रिजालले पुस्तौँदेखि निरन्तर बग्दै आएको नेपाली कला, साहित्य र संस्कृतिप्रतिको मोहको प्रतिनिधित्व गर्ने कृतिका रूपमा निर्माण गरेका हुन्।

यसैबीच, बेलायतस्थित नेपाली दर्शकहरूको बढ्दो मागलाई ध्यानमा राख्दै निर्माण पक्षले आगामी शुक्रबारदेखि त्यहाँका सिनेमा हलहरूमा चलचित्र प्रदर्शनको व्यवस्था मिलाएको छ।

बेलायतका धेरैजसो सिनेमा हलहरूमा शोको संख्या सीमित (दिनको एक वा दुई शो मात्र) रहने सम्भावना भएकाले दर्शकहरूलाई समयमै टिकट बुक गर्न निर्माण पक्षले आग्रह गरेको छ। अन्तिम समयमा टिकट नपाउने वा समस्या हुन सक्ने भन्दै अग्रिम बुकिङका लागि सूचना जारी गरिएको छ।

धेरै पढिएको