२६ श्रावण २०८३, मंगलवार
Follow Us

आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसद्को ध्यानाकर्षण

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८३, मंगलवार ११:२७

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको मंगलवारको बैठकमा एक १७ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारी उनको डिम्ब (ओभम) निकालिएको गम्भीर र संवेदनशील घटनाप्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद स्मृति सेञ्चुरीले उक्त घटनाबारे सदनको ध्यानाकर्षण गराएकी हुन् । सांसद सेञ्चुरीले संसद्मा प्रस्तुत गरेको जानकारीअनुसार गत साउन १४ गते ती बालिकालाई ३० हजार रुपैयाँको प्रलोभन देखाई राधिका गोतामे, प्रासन अधिकारी र डाक्टर नुतन शर्मालगायतको समूहले डिम्ब निष्कासन प्रक्रियामा संलग्न गराएका थिए ।

पीडित बालिकाको महिनावारी चक्र (मेन्सुरेशन साइकल) ट्रयाक गरी १० दिनसम्म हर्मोनल इन्जेक्सन दिइएको र अल्ट्रासाउण्डमार्फत डिम्ब निकालिएको सांसद सेञ्चुरीले बताइन् ।

डिम्ब निष्कासनपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । उनी बेहोस हुने, हिँडडुल गर्न नसक्ने, पेट र कम्मर दुख्ने तथा वान्ता हुने जस्ता समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएको थियो । चिकित्सकहरूले स्वास्थ्य परीक्षणका क्रममा बालिकाको डिम्ब निकालिएको पुष्टि गरेको सांसद सेञ्चुरीले जानकारी दिइन् ।

यस सम्बन्धमा पीडित पक्षले जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा केही व्यक्ति पक्राउ परे पनि उनीहरूलाई सामान्य जिम्मा जमानीमा छाडिएको र हाल उनीहरूले पीडित पक्षलाई विभिन्न माध्यमबाट धम्की दिइरहेको सांसद सेन्चुरीको आरोप छ ।

सांसद सेञ्चुरीले उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्न र हदैसम्मको कानुनी कारबाही गरी पीडितलाई न्याय दिलाउन सभामुखमार्फत सरकारसँग माग गरेकी छन् ।

धेरै पढिएको