२९ श्रावण २०८३, शुक्रबार
Follow Us

एनआरएनए केन्द्रीय पदाधिकारीहरूलाई काठमाडौँ बोलाइयो

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८३, शुक्रबार ०३:३०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीहरूलाई अगस्टको अन्तिम साता नेपालमा उपस्थित हुन आह्वान गरिएको छ।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले चीनमा आयोजना हुने ११औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनपछि गैरआवासीय नेपालीका प्रमुख मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन तथा नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सबै पदाधिकारीको नेपालमा उपस्थिति आवश्यक रहेको बताएका छन्।

अगस्ट १०–११ मा आयरल्यान्डमा १७औँ युरोप क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ भने अगस्ट १५–१६ मा चीनमा ११औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना हुँदैछ। दुवै सम्मेलनमा नागरिकता, लगानी, वैदेशिक रोजगारीलगायत गैरआवासीय नेपालीका प्रमुख सरोकारका विषयलाई प्राथमिकताका साथ उठाइने डा. शर्माले बताएका छन्।

उनका अनुसार अगस्टको अन्तिम साता नेपालमा सबै राजनीतिक दलका सांसदहरूलाई आमन्त्रण गरी गैरआवासीय नेपालीका सरोकार र मुद्दाबारे राउन्ड टेबल छलफल आयोजना गर्ने तयारी भइरहेको छ। उक्त छलफलमार्फत गैरआवासीय नेपालीका मुद्दालाई राजनीतिक दल तथा सरकारको तहमा थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्य रहेको छ।

डा. शर्माले उक्त समयमा नेपालमा उपस्थित भई छलफलमा सक्रिय सहभागिता जनाउन संघका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरेका छन्।

यसैबीच, एनआरएनएका आगामी कार्यक्रमहरूको क्यालेन्डरसमेत सार्वजनिक गरिएको छ। सम्बन्धित क्षेत्रीय समितिहरूले आगामी नोभेम्बरमा मध्यपूर्व, डिसेम्बरमा ओसेनिया र आगामी वर्षको अप्रिलमा अमेरिकामा क्षेत्रीय सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेका छन्।

त्यस्तै, यसअघिको आईसीसी बैठकले जनवरीमा महिला सम्मेलन, ज्ञान सम्मेलन तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। ज्ञान सम्मेलनमा नेपाल सरकार सह–आयोजक बन्ने स्वीकृति प्राप्त भइसकेको जनाइएको छ।

आगामी कार्यक्रमहरूलाई समेत ध्यानमा राख्दै पदाधिकारी तथा सदस्यहरूले आ–आफ्नो क्यालेन्डर तयार गर्न डा. शर्माले आग्रह गरेका छन्।

धेरै पढिएको