काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशको आगामी सरकारको नेतृत्वका लागि प्रदेशसभा सदस्य किरण थापालाई चयन गरेको छ। एमाले संसदीय दलको हालै सम्पन्न बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने निर्णय गरेको हो।
बैठकले संसदीय दलको नेताको जिम्मेवारी भने जगन्नाथ थपलियालाई नै कायम राख्ने निर्णय गरेको छ। मुख्यमन्त्रीको उम्मेदवार चयनका विषयमा पार्टीभित्र लामो समयदेखि देखिएको मतभेदबीच संसदीय दलले निर्णयमा पुग्दै नेतृत्वको विषय टुंग्याएको हो।
एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच बनेको नयाँ राजनीतिक समीकरणमा प्रदेश सरकारको बाँडफाँट गर्दा बागमतीको नेतृत्व एमालेको भागमा परेको थियो।
त्यसपछि मुख्यमन्त्रीका लागि पार्टीभित्रै विभिन्न नेताबीच प्रतिस्पर्धा बढेको थियो। थापालाई अघि सार्ने निर्णय हुनुअघि थपलिया र थापाबीच नेतृत्वका विषयमा विशेष प्रतिस्पर्धा देखिएको थियो। विवाद समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बन्धित नेताहरूसँग निरन्तर छलफल गरेका थिए।
थापा भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। मुख्यमन्त्रीका रूपमा उनको नाममा सहमति जुटेसँगै प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।
बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन्। सरकार गठनका लागि कम्तीमा ५३ सदस्यको समर्थन आवश्यक पर्छ। हाल नेपाली काँग्रेस ३६ सदस्यसहित प्रदेशसभाको सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। नेकपाका २६ र एमालेका २५ सदस्य छन्। एमालेका २५ मध्ये अप्सरा चापागाईँ उपसभामुखको भूमिकामा रहेकी छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ तथा हाम्रो नेपाली पार्टीका २ सदस्य प्रदेशसभामा छन्। राप्रपाले सरकार गठनको प्रक्रियामा तटस्थ रहने निर्णय गरिसकेको छ।
एमाले र नेकपाका सदस्य जोड्दा ५१ सदस्य पुग्ने भए पनि बहुमतका लागि आवश्यक ५३ संख्या पूरा हुँदैन। त्यसमा एमालेकी उपसभामुख चापागाईँको भूमिकासमेतलाई ध्यानमा राख्दा नयाँ सरकार गठनका लागि थप सदस्यको समर्थन जुटाउनुपर्ने अवस्था छ। त्यसैले एमाले नेतृत्वको सरकार गठनमा साना दल वा अन्य सदस्यको समर्थन निर्णायक बन्ने देखिएको छ।