अध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय राहत समिति गठन
लण्डन । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको हो।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा। हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बृहत् भर्चुअल बैठकले रसुवाका बाढीपीडितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको हो। बैठकले प्राकृतिक विपत्तिको यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एकताबद्ध भएर मानवीय सहयोगमा जुट्न आह्वानसमेत गरेको छ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डा. शर्माले रसुवा क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धारसँगै दीर्घकालीन राहत तथा पुनःस्थापनाका लागि एनआरएनए सक्रिय रूपमा अघि बढ्ने बताए।
“विपद्को यस कठिन समयमा विदेशमा रहेका नेपालीहरूको सामूहिक सहयोग र ऐक्यबद्धता आवश्यक छ,” बैठकमा अध्यक्ष डा. शर्माले भने। उनका अनुसार संघले तत्काल राहतका साथै प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा स्वास्थ्य, पुनःस्थापना तथा अन्य मानवीय सहयोगलाई निरन्तरता दिनेछ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तत्काल पुर्याउन चिकित्सकको विशेष टोली परिचालन गर्न आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
डा. महतोले प्राकृतिक विपत्तिका बेला घाइते तथा प्रभावित नागरिकको स्वास्थ्य उपचार सबैभन्दा महत्वपूर्ण विषय भएकाले चिकित्सकीय जनशक्ति र आवश्यक स्वास्थ्य सामग्रीसहितको टोली परिचालनमा सहयोग गर्ने बताए। उनले विगतमा नेपालमा भएका विभिन्न प्राकृतिक विपत्तिका समयमा जस्तै यसपटक पनि विश्वभर रहेका नेपालीलाई मानवीय सहयोगका लागि एकजुट हुन आह्वान गरे।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै चिकित्सक टोलीले प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक
बैठकले राहत तथा उद्धार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन राहत तथा उद्धार उच्चस्तरीय समिति, आर्थिक समिति तथा स्वयंसेवक परिचालन समितिलगायतका संरचना गठन गर्ने निर्णय गरेको छ।
राहत तथा उद्धार उच्चस्तरीय समितिको संयोजकमा एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा रहनेछन्। समितिमा बाढी प्रभावित क्षेत्रसँग सम्बन्धित एनआरएनए राष्ट्रिय समितिका अध्यक्षहरू तथा संघका सम्पूर्ण पदाधिकारीहरू सहभागी हुने व्यवस्था गरिएको छ।
उच्चस्तरीय समितिले नेपाल सरकार, स्थानीय प्रशासन, प्रभावित क्षेत्रका सम्बन्धित निकाय तथा एनआरएनएका राष्ट्रिय समितिहरूसँग आवश्यक समन्वय गरी राहतको प्राथमिकता निर्धारण गर्नेछ।
बाढीपीडितलाई राहत तथा सहयोग पुर्याउने कार्यमा नेपाल सरकारसँग प्रत्यक्ष समन्वय गर्न एनआरएनएका पूर्व कार्यकारी अधिकृत रविकिरण अधिकारीलाई फोकल पर्सनको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।
अधिकारीले प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्ने तथा प्रभावित क्षेत्रको आवश्यकता, राहतको प्राथमिकता र एनआरएनएबाट उपलब्ध गराइने सहयोगबीच प्रभावकारी तालमेल कायम गर्नेछन्।
बैठकमा एनआरएनएका केन्द्रीय पदाधिकारी, केन्द्रीय सल्लाहकार, विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले रसुवामा देखिएको विपद्को अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार तथा राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग आवश्यक रहेको बताएका थिए।
संघले विदेशमा रहेका नेपाली समुदाय, एनआरएनएका राष्ट्रिय समितिहरू, सामाजिक संघसंस्था तथा व्यक्तिगत रूपमा सहयोग गर्न इच्छुक नेपालीलाई राहत अभियानमा जोडिन आह्वान गरेको छ।