काठमाडौं । कांग्रेस सभापति गगन थापाले आफूले हरसम्भव प्रयास गर्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने समय नपाएको खुलासा गरेका छन । आइतबार र सोमबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठक बसेको थियो ।
जसमा सभापति थापाले सोमबार पार्टीका पदाधिकारी र सदस्यहरूले राखेका धारणा र प्रश्नको जवाफ दिने क्रममा सभापति थापाले यसबारे जानकारी गराएका हुन । सभापति थापाले भदौ ५ गते शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरेर भेट्नका लागि समय मागेका थिएँ ।
तर थापाले भेट्नका लागि आफूले समय नै नपाएको ब्रिफिङ गरेको एक पदाधिकारीले जानकारी दिएका छन् । सभापति थापाको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘म सबै पार्टीलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु । त्यसका लागि मैले निवर्तमान सभापतिसँग भेटेर कुरा गर्न चाहेको छु । समय पाएको छैन ।’
देउवासँग समय नपाएपछि आफूले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग शनिबार साँझ र नेता डा. शेखर कोइरालासँग आइतबार भेटेको पनि बैठकमा जानकारी गराएका थिए । भेटमा इतर समूहले राख्दै आएका मागका विषयमा कुराकानी भएको थापाको भनाइ थियो ।
थापाले इतर समूहले राख्दै आएको प्रमुख माग भन्दै १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण गरेका क्रियाशील सदस्यलाई डिजिटल्ली अद्यावधिक गर्ने विषयलाई अनिवार्य नगर्ने निर्णय प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव बैठकले स्विकार्दै निर्णय गरेको छ । तथापि बैठकपछि जारी विज्ञप्तिमा त्यो विषय उल्लेख छैन ।
तर, कांग्रेस प्रवक्ता देवराज चालिसेले क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई सर्तसहित महाधिवेशनमा सहभागी गराउने निर्णय भएको बैठकपछि सञ्चारकर्मीहरूसँग बताएका थिए ।
बैठकमा आगामी असोज १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको १५ औँ महाधिवेशनको मिति एक महिना जति सारेर भए पनि पार्टीमा सबैलाई मिलाउनु पर्ने प्रस्ताव आएको थियो । नेता अर्जुननरसिंह केसीले महाधिवेशनको मिति कात्तिकसम्म सारेमा पार्टीमा सहमति हुने र त्यसको नेतृत्व आफूले लिने बताएका थिए ।
तर, केसीको त्यो प्रस्ताव भने सभापति थापाले स्विकारेनन् । केन्द्रीय महाधिवेशनको मिति सर्वोच्च अदालतका कारणले आफूले सार्न नसक्ने थापाले बताएका थिए ।
सर्वोच्चमा आफूहरूले जवाफ पेस गर्दा असोज १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने उल्लेख गरेकाले सार्न नसक्ने बताएको अर्का बैठकमा सहभागी नेताले बताए ।