काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । जेन जेड शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताएका हुन् ।
गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका शहीद परिवार, घाइते तथा युवा पुस्ताका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले माग पूरा नहुने आशंका नगर्न आग्रह गरे ।
उनले जेनजीका माग पूरा नहुन अब अर्को गोली चल्नुपर्ने अवस्था आउनुपर्ने भन्दै त्यसका लागि कसैमा पनि हिम्मत नभएको बताए । ‘हाम्रो माग पूरा नहुन अर्को एउटा देशमा गोली चल्नुपर्छ । अर्को गोली चल्नलाई यो देशमा कसैको हिम्मत छैन । कसैले चलाउनलाई यो देशमा हिम्मत गर्न सक्दैन,’ उनले भने ।
गुरुङले आफूमा सत्ताको लोभ वा घमण्ड नरहेको दाबी गर्दै जनताले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताए । मन्त्रीको पद र शक्ति आफ्ना लागि सामान्य रहेको उल्लेख गर्दै उनले आफूलाई दिएको जिम्मेवारीका रूपमा पदलाई लिएको बताए । ‘त्यो पद मेरो लागि जिम्मेवारी हो,’ उनले भने ।
शहीद परिवार तथा घाइतेलाई सरकारले माग सम्बोधन नगर्ने हो कि भन्ने आशंका नगर्न आग्रह गर्दै उनले जेन–जी आन्दोलनका शहीदले देखेको परिवर्तनको सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।
‘जब सम्म मेरो यो ज्यानमा प्राण छ, कुनै नेपाली, कुनै दाजुभाइ, दिदीबहिनीहरूलाई दुःख हुन दिन्नौँ । कमी–कमजोरी होला, तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्नौँ,’ उनले भने ।
गृहमन्त्री गुरुङले वर्तमान सरकार सुशासनको जगमा बनेको दाबी गर्दै भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताए । उनले सरकारले भाषणभन्दा कामलाई प्राथमिकता दिएको दाबी गरे ।
मन्त्रालय प्रवेश गर्दा हरेक दिन आफूले पाएको जिम्मेवारी पूरा गर्न सक्ने कि नसक्ने भन्ने डर रहने गरेको उल्लेख गर्दै उनले सुरक्षाकर्मीको मनोबल बढाउने, जेन–जी पुस्ताको सपना साकार पार्ने र नेपाली नागरिकको आशा पूरा गर्ने जिम्मेवारी सरकारमाथि रहेको बताए ।
गुरुङले सरकारको कामप्रति नागरिकमा रहेको अपेक्षा पूरा गर्न इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।