७ आश्विन २०८३, बुधबार
Follow Us

बार्षिक १० मिलियन पाउन्डमा आर्टेटाको आर्सनलसँग नयाँ सम्झौता

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०८३, बुधबार ०६:१०

लन्डन। मुख्य प्रशिक्षक मिकेल आर्टेटाले इङ्लिस प्रिमियर लिग क्लब आर्सनलसँग परिमार्जित नयाँ सम्झौतामा सहमति जनाएका छन्। यी स्पेनी प्रशिक्षकको हालको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदै गर्दा विगत केही महिनादेखि नयाँ सम्झौताका लागि वार्ता भइरहेको थियो।

बीबीसी स्पोर्टका अनुसार सबै पक्षबीच सहमति नजिक पुगिसकेको अवस्थामा अब आर्टेटाले आर्सनल (गनर्स) सँगको कार्यकाल लम्ब्याउन अन्तिम सहमति गरिसकेका छन्। नयाँ सम्झौताको आधिकारिक अवधि सार्वजनिक नगरिए पनि यसले डिसेम्बर २०१९ मा क्लब सम्हालेका आर्टेटालाई कम्तीमा १०औँ वर्षसम्म आर्सनलमै रहने सुनिश्चित गर्नेछ। नयाँ सम्झौता अनुसार उनको हालको वार्षिक १० मिलियन पाउन्ड तलब र थप ५ मिलियन पाउन्ड बोनसमा उल्लेख्य वृद्धि हुनेछ।

सम्झौताबारे बोल्दै आर्टेटाले गत साता नै समर्थकहरूलाई चिन्ता नलिन आग्रह गर्दै आफू क्लबमै रहन चाहेको बताएका थिए। उनले भनेका थिए, “म अत्यन्तै खुसी छु र आफूसँग काम गर्ने मानिसहरूसँग सहकार्य गर्न पाएकोमा निकै आभारी महसुस गर्छु।”  यस सिजनपछि पनि क्लबमै रहने स्पष्ट चाहना राखेका आर्टेटाको मूल उद्देश्य आर्सनलमा एउटा बलियो र दिगो विरासत निर्माण गर्नु रहेको छ।

गत सिजन २० वर्षपछि आर्सनलले जितेको प्रिमियर लिग उपाधिलाई उनले केवल सुरुवातको रूपमा हेरेका छन्। च्याम्पियन्स लिगमा पेनाल्टी किकको दूरीमा रोकिनु परेको पीडालाई प्रेरणामा बदल्दै उनी युरोपेली फुटबलमा आर्सनललाई थप उचाइमा पुर्‍याउन प्रतिबद्ध छन्।

धेरै पढिएको