६ आश्विन २०८३, मंगलवार
Follow Us

तमुधीं यूकेद्वारा बाढीपीडितका लागि १ करोड ११ लाखभन्दा बढी राहत सहयोग

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०८३, मंगलवार २१:५८

काठमाडौं । तमुधीं यूकेले नेपालका बाढीपीडितका लागि बेलायतमा संकलन गरेको १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ राहत सहयोग सरकारलाई हस्तान्तरण गरेको छ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङका अनुसार राहत रकम मंगलबार नै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ। चेक हस्तान्तरणका लागि अध्यक्ष गुरुङसँगै वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङलगायतको टोली अर्थ मन्त्रालय पुगेको थियो।

राहत रकम हस्तान्तरण गर्न अध्यक्ष जुमकाजी गुरुङसहित तमु धीं यूकेका ६ सदस्य आफ्नै व्यक्तिगत खर्चमा सोमबार बेलायतबाट नेपाल आएका थिए। सचिव विमल गुरुङका अनुसार बेलायतमा संकलित रकममध्ये करिब २५ लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा पुगेर बाढीपीडितलाई वितरण गर्ने तयारी भइरहेको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महासचिव डा. विशाल गुरुङले सन् २००० मा बेलायतमा स्थापना भएको तमु धीं यूकेले महाभूकम्प, कोभिड–१९ महामारीलगायत विपद्का समयमा तथा परोपकारी क्षेत्रमा गर्दै आएको सहयोगबारे जानकारी गराएका थिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्का समयमा तमु धीं यूकेले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सरकारप्रति भरोसा गरेर १६ अर्ब रुपैयाँ राहत रकम संकलन भएको जानकारी दिए। उनका अनुसार हालसम्म १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।

मन्त्री वाग्लेले दसैंअघि नै सबै बाढीपीडितका लागि अस्थायी टहरा निर्माण गर्ने तयारी रहेको बताए। प्रभावित परिवारले आफूले चाहेको स्थानमा बस्न सक्ने गरी प्रति परिवार १७ हजार रुपैयाँ सहयोग उपलब्ध गराइने उनको भनाइ छ।

स्थायी आवास निर्माणतर्फ भने साढे दुई वर्षभित्र सबै पीडित परिवारका लागि घर निर्माण गर्ने योजना रहेको मन्त्री वाग्लेले बताए।

तमु धीं यूकेले बेलायतमा भदौ १४ गते (अगस्ट ३०) आयोजित १७औँ नेपाली मेलाको दिनदेखि बाढीपीडितका लागि सहयोग रकम संकलन सुरु गरेको थियो। नेपालमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि उक्त रकम संकलन गरिएको हो।

नेपाली मेला संयोजक कमल गुरुङका अनुसार मेलाबाट बचत भएको रकम, तमु धीं यूकेको संस्थागत सहयोग, च्यारिटी ट्रेल वाक, तमु धीं आमा समूह, विभिन्न इकाइ तथा व्यक्तिगत सहयोगबाट राहत रकम संकलन गरिएको हो।

राहत रकम हस्तान्तरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीले बाढीपीडितका लागि सहयोग जुटाउने बेलायतवासी नेपालीप्रति आभार व्यक्त गरेका थिए।

धेरै पढिएको