कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। १ पुस २०७९ देखि सञ्चालनमा आएको विमानस्थलमा पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान हुन लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित बनेका छन्।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गो लगायत सम्पूर्ण पूर्वाधार र तयारी पूरा भइसकेको छ। तालिका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे पुनः दुबईका लागि प्रस्थान गर्नेछ। पहिलो उडानलाई पोखरा विमानस्थलमा ‘वाटर क्यानन साल्ब्युट’ (पानीको फोहरा) ले स्वागत गरिनेछ।
‘विमानस्थल सञ्चालनपछि केही वायुसेवा कम्पनीले चार्टर उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन,’ महाप्रबन्धक निरौलाले भने, ‘अहिले दुबईका लागि नियमित उडान सुरु हुन लागेकाले हामी निकै उत्साहित छौँ।’
पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले राजस्व सङ्कलन, यात्रु जाँचपास तथा निकासी–पैठारीका लागि भन्सार प्रशासन तयार रहेको जानकारी दिए। यस्तै, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार सुरक्षा समितिको निरीक्षणपछि विमानस्थलको शान्तिसुरक्षा व्यवस्था चुस्त बनाइएको छ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ भएकाले र फ्लाई दुबईका १२० भन्दा बढी गन्तव्यमा उडान हुने भएकाले यो सेवा पोखराका लागि दीर्घकालीन र फलदायी हुने विश्वास व्यक्त गरे।
पोखरा भित्रिने तथा प्रस्थान गर्ने पहिलो उडानका यात्रु एवं पर्यटकलाई स्थानीय पर्यटन व्यवसायीले खादा र माला लगाएर स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।