‘नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने ऐन ल्याएका छौँ’ : मुख्यमन्त्री थापा मगर
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानूनी व्यवस्था गरिएको बताएका छन् ।
मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताए । मुख्यमन्त्री थापा मगरले बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने गरी ऐन निर्माण गरी कार्यान्वयनको प्रक्रिया अघि बढाएको जानकारी दिए।
बहुभाषिक र बहुजातीय मुलुकमा प्रदेशको भाषिक तथा सांस्कृतिक पहिचानलाई सरकारी मान्यता दिनु संघीयताको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । उनले बागमती प्रदेश सरकारले भाषा, साहित्य, कला र संस्कृतिको उत्थानका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए।
सोही क्रममा शङ्खधर साख्वा: प्रतिष्ठानको संग्रहालय निर्माण, संरक्षण र विकासका लागि समेत प्रदेश सरकारले बजेट छुट्याएको उनले जानकारी दिए। बागमती प्रदेशका १३ वटै जिल्लामा शङ्खधर साख्वाको योगदान र पहिचानलाई स्थापित गर्नुपर्ने उल्लेख गर्दै उनले यस वर्ष दोलखा जिल्लामा शङ्खधर साख्वा: प्रतिष्ठान निर्माणका लागि समेत बजेट विनियोजन गरिएको बताए। मुख्यमन्त्री थापा मगरले नेपाल बहुभाषिक र बहुजातीय मुलुक भएकाले हरेक भाषा, संस्कृति र परम्पराको आफ्नै मौलिक महत्त्व रहेको बताए । प्रदेशको जनसांख्यिक तथा भाषिक विशेषताअनुसार भाषा र संस्कृतिको संरक्षण गर्दै सरकारी मान्यता दिने काम संघीयताको सुन्दर पक्ष भएको उनको भनाइ छ ।
मुख्यमन्त्री थापा मगरले भने, ‘राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले सर्वसाधारण जनतालाई ऋणमुक्त गराई मानवता, परोपकार र सामाजिक सेवाको अनुपम उदाहरण प्रस्तुत गरेका थिए । उनको यही महान् योगदानका कारण नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय पहिचान र गौरवको प्रतीक बनेको छ । नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक हो । प्रत्येक भाषा र संस्कृतिको आफ्नै मौलिक महत्त्व छ । बागमती प्रदेश सरकारले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर बजेट विनियोजन गर्दै आएको छ । शङ्खधर साख्वा: प्रतिष्ठानको संरक्षण, संग्रहालय निर्माण तथा विकासका लागि समेत प्रदेश सरकारले सहयोग गरेको छ ।
साथै, दोलखा जिल्लामा पनि शङ्खधर साख्वा: प्रतिष्ठान निर्माणका लागि बजेट विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानूनी व्यवस्था गर्नु ऐतिहासिक उपलब्धि हो । यो संघीयताको मर्मअनुरूप स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्ने महत्त्वपूर्ण कदम हो ।’
उनले शङ्खधर साख्वाले ११४७ वर्षअघि ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएर गरेको परोपकारी कार्य सामाजिक सेवाको महत्त्वपूर्ण उदाहरण भएको उल्लेख गर्दै उनको योगदानको संरक्षण र प्रचारप्रसारमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे ।

