२४ बैशाख २०८१, सोमबार
Follow Us

क्रान्तिकारीको २१ औँ माधिवेशन सुरु

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७४, बुधबार १५:१८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन (अनेरास्ववियु क्रान्तिकारी) को २१औँं राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ ।
‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठन निर्माणका लागि एकताको २१औँ राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित आजदेखि सुरु भएको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

सम्मेलनको बन्दसत्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्मृति भवनमा बिहीबारदेखि सुरु हुनेछ । सम्मेलनमा दुई हजार ७२ प्रतिनिधि रहेका छन् ।

यही भदौ ११ गते नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सम्पन्न हुने संगठनका अध्यक्ष नरेन्द्रप्रसाद न्यौपानले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न पार्टी निकट विद्यार्थी संगठनका अध्यक्ष र प्रतिनिधिहरुले सफलताको शुभकामना दिनुभएको थियो ।

नेतृत्वमा सहमति नभए मतदान गर्न प्रचण्डको निर्देशन
सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संगठनको नेतृत्वमा सहमति नभए मतदान प्रक्रियामा लैजान विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, यसपटक पार्टीले नयाँ प्रयोग गर्न खोज्दैछौँ, जनवर्गीय संगठनको नेतृत्व चयनमा पार्टीले माथिबाट हस्तक्षेप नगर्ने नीति लिएका छौँ, सहमति नभए प्रतिस्पर्धामा जानुहोस् ।”

क्रान्तिकारीका नेताहरु अनिल शर्मा, रञ्जित तामाङ, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेतलगायत अध्यक्षका आकांक्षी हुनुहन्छ । प्रतिस्पर्धामा जाँदा सभ्य र शालिन रुपमा प्रस्तुत हुन नेतृत्वका आकांक्षीलाई उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो प्रतिस्पर्धा विद्यार्थी नेताहरुबीच मात्रै सीमित रहोस्, पार्टीका केन्द्रीय नेता कसैलाई जिताउन र हराउन लागे मलाई जानकारी दिनुहोस्, त्यस्ता नेतालाई कारबाही हुन्छ ।”

माओवादी शक्तिशाली हुँदैछ
सम्मेलनमा अध्यक्ष दाहालले पछिल्लो माओवादी धारका पार्टीबीचको एकता र धुव्रीकरणले माओवादी केन्द्र बलियो बन्दै गएको टिप्पणी गर्नुभयो । माओवादी आन्दोलन र क्रान्तिकारी शक्तिबीच एकताको अभियान सफल हुँदै गएको र यसबाट अन्य पार्टीहरु डराउन थालेको उहाँको भनाइ थिायो ।

उहाँले भन्नुभयो, “शान्ति प्रक्रियामा आएपछि हाम्रो आन्दोलन विचलित र विभाजन भएको सत्य हो, यो विचलनको सबैभन्दा बढी नैतिक जिम्मेवारी म लिन तयार छु, अब यसलाई सुधार गर्नुपर्छ भन्ने निर्णय केही दिन अघिको पार्टी बैठकले गरीसकेको छ ।” अर्को प्रसंगमा संघीयता, गणतन्त्र र समावेशी, समानुपातिक एजेण्डाका विरोधीले चुनाव जित्ने र परिवर्तका पक्षधरले चुनाव हार्ने अवस्था किने आयो भन्ने समीक्षा गर्न आवश्यक छ ।

प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रक्रियामा आफूहरु लागेको र केही शक्ति त्यसलाई उल्टाउने खेलमा लागिरहेको अध्यक्ष दाहालको भनाइ थियो ।