२३ बैशाख २०८१, आईतवार
Follow Us

युनियनको भवन निर्माणका लागि सहयोग घोषणा

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७४, बुधबार १४:२५

चितवन । नेपालमा क्रियाशील पत्रकारिता गरी हाल अमेरिकामा व्यवसाय गर्दै आउनुभएका दुई अग्रज पत्रकारले नेपाल प्रेस युनियन चितवनको निर्माणाधीन भवनका लागि जनही रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

भरतपुर महानगरपालिका–११ मा निर्माणाधीन भवनको मंगलबार निरीक्षणपछि युनियन चितवन शाखाका पूर्वअध्यक्षसमेत रहनुभएका बेदप्रसाद खरेल र वातावरण पत्रकार समाजका संस्थापक अध्यक्ष सानुबाबु सिलवालले प्रारम्भिक चरणमा रु एक-एक लाख सहयोगको घोषणा गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्षसमेत रहनुभएका खरेल युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं नेपाल जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्यसमेत रहनुभएको छ ।

चौध वर्षअघि अमेरिका जानुभएका खरेलले नेपालमा पत्रकारिता क्षेत्रको विकास सराहनीय भएको भन्दै आफ्नोतर्फबाट यस क्षेत्रको विकासका लागि सक्दो सहयोग पु-याउँदै जाने बताउनुभयो ।

युएस नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष रहनुभएका सिलवालले अमेरिकामा रहेका नेपाली स्वदेशमा नै व्यवसायमा लगानी गर्न इच्छुक रहेको भन्दै लगानीको वातावरण सिर्जना गर्न पत्रकारिता क्षेत्रबाट समेत भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

समाजसेवी मैयादेवी श्रेष्ठले उपलब्ध गराउनुभएको जग्गामा युनियनले भवन निर्माण गरिरहेको छ ।