भक्तपुर । भक्तपुरमा छयालिसको राजनीतिपछि निरन्तर चुनाव जित्दै आएका नारायणमान विजुक्छेले यो पटक उम्मेदबारी नदिएर राजनीतिक विश्राम लिएका छन । अर्कातर्फ भक्तपुर दुईमा अप्रत्याशित रुपमा दमननाथ ढुंगानाले उम्मेदबारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदबारी नदिएर राजनीतिक विश्राम लिएका छन् । बहुदलीय ब्यवस्थापछि हरेक पटक भक्तपुर एकवाट उम्मेबार बन्ने गरेका बिजुक्छेले यो पटक प्रेम सुवाललाई उक्त क्षेत्र छाडेका हुन । यसअघि संसदमा समानुपातिक तर्फका सदस्य रहेका सुवाललाई उम्मेदबार छाडेपछि अव नेमकिपाको नेतृत्व पनि उनमै जाने अनुमान गरिएको छ । पार्टीको निर्णय अनुसार आफु उम्मेबार बनेको उनले बताए ।
२०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका बिजुक्छेले उमेरका कारण चुनाव नलडेको प्रतिक्रिया दिएका छन् । कांग्रेसले बाबुराम जोशीलाई उम्मेदबार बनाएको छ । वाम गठबन्धनको तर्फबाट माओवादीका मिलन सुवालले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए । त्यसैगरी संघीय समाजवादी फोरका कुसुम प्रधानले उम्मेदवारी दिएका छन् । प्रदेशसभाका लागि माओवादीका देवीप्रसाद ढकाल र एमालेका रोमन शिलाकारले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभाका लागि भने नेमकिपाले क्षेत्र नम्बर एक क मा निरज लवाज र ख मा सुरेन्द्र गोसाईलाई उम्मेदबार बनाएको छ ।
भक्तपुर क्षेत्र नम्बर दुईमा कांग्रेस नेता एवं पूर्व सभामुख दमननाथ ढुंगानालाई उम्मेदबारको रुपमा अघि सारेको छ । अघिल्लो संसदीय निर्वाचनमा जितेको क्षेत्रमा ढुंगानालाई उम्मेदबार बनाएपछि टिकट नपाएका कांग्रेस कार्यकर्ताहरु मनोनयन बहिस्कार गरेका छन् । उक्त क्षेत्रमा एमालेले अघिल्लो पटक सोही निर्वाचन क्षेत्रवाट पराजित भएका महेश बस्नेतलाई अगाडी सारेको छ ।
भक्तपुरको प्रतिनिधि सभा सदस्यमा नेमकिपाले अनुराधा थापा मगरलाई उम्मेदबार बनाएको छ । क्षेत्र नम्बर दुईमा प्रतिनिधि सभातर्फ संघीय समाजवादीकी देवीमाया खाती, विवेकशील साझा पार्टीको तर्फबाट शशिविक्रम कार्कीको उम्मेदबारी परेको छ । उनी यसअघि समानुपातिकतर्फकी सांसद थिइन । प्रदेश सभातर्फ भने नेमकिपाले सरोजराज गोसाई र प्रेमजन थापालाई अघि सारेको छ । गठबन्धनकै तर्फबाट प्रदेशसभाका लागि २ मा शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसवाट भक्तपुर दुईको प्रदेश सभामा उद्धव सिलवाल र गणेशमान चक्रधर उम्मेदवार बनेका छन् । भक्तपुरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एक लाख ७८ हजार मतदाता रहेका छन् ।