१८ बैशाख २०८१, मंगलवार
Follow Us

हतियारसहित एक पक्राउ

sarusaru
८ मंसिर २०७४, शुक्रबार ०१:३२

रौतहटको बौधीमाई नगरपालिका-७ ठूलो बंकुलबाट एक थान एयरगन बन्दुक र त्यसको गोलीसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय शेख महम्मद अफताब कलीलाई एकथान एयर गन र सोमा लाग्ने ११ थान गोलीसहित बिहीबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस समुजवाले पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका अफताबलाई आवश्यक कानुनी कारबाहीको लागी जिल्ला प्रहरी कार्यालयलको जिम्मा लगाइएको सशस्त्र प्रहरी उच्च स्रोतले जनाएको छ । आसन्न निर्वाचनलाई प्रभाव पार्ने अपराधिक गतिविधि बढेपछि अहिले जिल्लामा सुरक्षा सतर्कता बढाइएको सुरक्षा अधिकारीको दाबी छ ।

बम विस्फोटमा संलग्न २ पक्राउ

यस्तै वाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी शनिबार चन्द्रपुर नगरपालिका-५ स्थित राधाकृष्ण मन्दिर अगाडि ९ जना घाइते हुने गरी भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा २ जनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका-१ पौराई बस्ने विशाल लामा र होम गौतम रहेका छन् । उनीहरु नेत्रविक्रम चन्द (विप्लव) समूहको जिल्लास्तरीय कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका अधिकारीले बताए । घटनामा संलग्न भएका अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सुरक्षा जाँच कडा

बम विस्फोटको घटनापछि प्रहरीले चन्द्रपुर नगर क्षेत्रलगायत जिल्ला भरी सुरक्षा जाँच कडा बनाएको छ ।

सडकमा मोटरसाइकल कुदाउने सवारी तथा चालकको शरीर समेत खानतलासी सुरु गरिएको छ । जिल्लाको मुख्य तथा भित्रि सडकमा नियमित तथा छडके चेकिङ समेत सुरु गरिएको सुरक्षाधिकारीले बताएका छन् ।

पाँच सय लिटर घरेलु मदिरा नष्ट

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले २ दिनयता ५ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । घरेलु मदिरा सेवन गरी झैझगडा बढेको र त्यसले निर्वाचनलाई असर पुर्‍याउने भएकोले मदिरा भट्टी नियन्त्रण गर्ने कार्य थालिएको प्रहरीले जनाएको छ

– कान्तिपुरबाट ।