नेपालगन्ज : बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा हाइसको ठक्करबाट चिुतवाको मृत्यु भएको छ। मंगलबार मध्यान्ह १२ बजेतिर नेपालगन्जबाट प्युठान जाँदै गरेको बा ४ ख २९७४ नम्बरको हाइसले बाँके राष्ट्रिय निकुन्जमा पर्ने पूर्वपश्चिम राजमार्गमा ठक्कर दिँदा चितुवाको घटनास्थलमै मृत्यु भएको हो।
राप्ती सोनारी गाउँपालिका-१ को बाघखोर भन्ने स्थानमा हाइसले चितुवालाई ठक्कर दिएको राष्ट्रिय निकुन्जले बताएको छ। चितुवालाई ठक्कर दिएर फरार भएको हाइससहित चालक प्युठानका ऐमलाल रानालाई अमेलिया प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई प्रहरीले बाँके राष्ट्रिय निकुन्जलाई बुझाइएको निकुन्जका निमित्त प्रमुख लाल भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार सडक पार गर्ने बेला तिव्र गतिमा रहेको हाइसले चिुतवालाई ठक्कर दिएको हो। हाइसको ठक्करबाट चितुवाको मृत्यु भएपछि भागेका चालक रानालाई प्रहरीको टोलीले अमेलियामा पक्राउ गरी मंगलबार नै बाँके राष्ट्रिय निकुन्जलाई बुझाएको हो।
चितुवा अन्दाजी तीन वर्षको भएको बताइएको छ। चालकमाथि अनुसन्धान भइरहेकाले वन्यजन्तु तथा राष्ट्रिय निकुन्ज ऐन २०२९ अनुसार कारबाही गरिने बताए। बाख्लो हुस्सु लागेका कारण जनावर बाटोमा क्रस गर्दा तिव्र सवारीको शिकार हुने गरेका छन्। निकुन्जले वन्य जन्तुको क्षेत्रमा सवारी साधान सीमित गतिमा चलाउन अनुरोध समेत गरेको छ।
– अन्नपूर्णबाट ।