३१ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएन नेताहरु वेलायतमा भेला हुदैं, अध्यक्ष भट्ट सोमवार उत्रिने

नेपालब्रिटेन डट कम्
७ माघ २०७४, आईतवार ००:४६

लण्डन । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्टसहितका केन्द्रीय नेताहरु लण्डनमा जम्मा हुदैंछन् । उपाध्यक्ष कुमार पन्त लगायतका नेताहरु लण्डन आउने कार्यक्रम छ ।
सोमबार बिहान ११ बजे लण्डन उत्रिने अध्यक्ष भट्ट त्यसलगत्तै एनआरएन यूकेको अन्तरक्रियामा भाग लिन अल्डरसट पुग्नेछन । सांझ एनआरएन यूकेको सम्मान कार्यक्रममा उनले भाग लिनेछन । उपाध्यक्ष पन्त आइतवार साँझ ८ बजे हित्रो टर्मिनल ५ मा उत्रिदै छन् ।

उनीहरु गैरआवासीय नेपाली संघ यूकेले सोमवार दिउँसो भेटघाट रेष्टुरेन्टमा आयोजना हुने लगानी सम्बन्धी एक कार्यक्रममा सहभागी हुन वेलायत आउन लागेका हुन् । उनीहरुले सोमवार साँझ एनआरएन यूकेको आयोजना हुने स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् ।

एनआरएन यूकेका महासचिव राज कुमार त्रिपाठीका अनुसार सोमवार आयोजना हुने कार्यक्रमको तयारी अन्तिमचरणमा पुगेको छ । त्रिपाठीले वेलायतस्थित नेपाली समूदाय तथा संघसँस्थालाई निमन्त्रण पठाएको जानकारी दिदैं कार्यक्रममा उपस्थित भैदिन आग्रह गरे ।

यसअघि पूर्व अध्यक्ष तथा संरक्षक जिवा लामिछाने समेत कार्यक्रममा सहभागी हुने भनिए पनि प्राविधीक कारणले उनी भने कार्यक्रममा अनुपस्थित रहने भएका छन् तर उनले सोमवार दिउँसोको नेपालमा लगानी सम्बन्धि कार्यक्रमलाई भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्ने भएका छन् ।

कार्यक्रममा भाग लिन युरोप क्षेत्रीय संयोजक शिव कुमार वरुवाल, एनआरएन बेल्जियम अध्यक्ष लोक दाहाल, एनआरएन नेदरल्याण्ड अध्यक्ष मनोहरि पौडेल आइसिसी सदस्य नारायण आचार्य आइतवार विहान लुटन विमानस्थलमा उत्रिदै छन् ।

एनआरएन यूकेले सोमबार दिउंसो अल्डरसटमा राखेको कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपाल रहनेछन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ग्लोबल आइएमई बैंकका सिईओ चन्द्र ढकाल, बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी, एनआरएन सल्लाहकार डा. हेमराज शर्मा लगायत पनि कार्यक्रममा सहभागी रहने महासचिव त्रिपाठीले जनाए ।

गर्भनर नेपालले आइतवार दिउँसो ग्लोवल आईएमई बैंकको वेलायत सम्पर्क कार्यालयको औपाचारिक रुपमा उद्धघाटन गर्ने कार्यक्रमतय गरिएको छ ।