धनगढी । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ।
बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए। घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ।
हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउदले बताए। घटनास्थल बाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ।
स्थानीय तहको निर्वाचनमा साउद एमालेका तर्फबाट गोदावरी नगरको प्रमुखमा निर्वाचित भएका थिए। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ। -रासस