१३ असार २०८१, बुधबार
Follow Us

सोलुखुम्बुमा आगलागीबाट पाँच लाख बराबरको क्षति

sarusaru
१ फाल्गुन २०७४, मंगलवार ०२:४०

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२, छेस्कामको एक घरमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सोमबार दिउँसो करिब १२ बजे स्थानीय मिलन राईको घरमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । मिलन राईको घरमा काम गरिखाने स्मृति कुलुङले घर नजिकै बारीमा झ्यास पोल्ने क्रममा घर नजिकै रहेको परालमा आगो सल्किँदा घरमा आगलागी भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

घरधनी मिलन राई काठमाडौं बस्दै आएका र स्थानीय सञ्जय कुलुङलाई घरको समेत रेखदेख गरी बस्न दिइएको प्रहरीको भनाइ छ । स्मृति सञ्जय कुलुङकी श्रीमती हुन् । घरमा भएको काठपात सबै जलेर नष्ट भएको छ भने घरधनी बाहिर बस्ने भएकाले बहुमूल्य वस्तु नरहेको बताइएको छ । आगो सोमबारै नियन्त्रणमा आएको छ ।
-रासस