२७ बैशाख २०८१, बिहीबार
Follow Us

टुडिखेलमा सेना दिवस मनाइँदै

sarusaru
१ फाल्गुन २०७४, मंगलवार ०५:०४

मुलुकको प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा मङ्गलबार मुलुकभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा मङ्गलबार अपराह्न सैनिक मञ्च टँुडिखेलमा आयोजना हुने बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड (शस्त्राभ्यास), प्यारा जम्प, कवाज तथा तोप बढाइँसम्मका विविध कार्यक्रम हुनेछन् । नेपाली सेनाको ब्यान्डले भारतीय र बेलायती सेनाको गोर्खा ब्यान्डसँग मिलेर संयुक्त रूपमा गीति नाट्य प्रस्तुत गर्नुका साथै उक्त कार्यक्रम समापनको अवसरमा आतशवादीसमेत गरिने छ । उक्त समारोह अपराह्न ५ बजे सुरु भई करिब साँझ ७ बजेसम्म चल्ने छ ।
नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा हुन लागेको यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रूपमा भारतीय सेनाध्यक्ष विपीन रावतलाई आमन्त्रण गरिएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुनुहुन्छ ।
सैनिक मुख्यालय जङ्गी अड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । सेना दिवसकै उपलक्ष्यमा जङ्गी अड्डामा बुधबार साँझ सांस्कृतिक कार्यक्रमसहित विशेष समारोह आयोजना हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।