२७ बैशाख २०८१, बिहीबार
Follow Us

युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट ६ प्रतियोगी

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार २०:१८

लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ( ईनास) यूकेले लण्डनमा आयोजना गर्ने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतको अडिसन सम्पन्न भएको छ ।

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नृत्यतर्फ नर्विटनकी काजोल गुरुङ, बर्कशायरका शुसन गुरुङ र प्लमस्टिडकी रक्षा सुनुवार क्रमश पहिलो, दोस्रो र तेस्रो हुंदै छनौटमा परेका छन् । गायनतर्फ म्यान्चेस्टरका निमान तामाङ, मिडलसेक्सबाट शुस्रुत तिमिल्सिना, प्लमस्टिडबाट रश्ना गुरुङ क्रमश पहिलो, दोस्रो तथा तेस्रो हुंदै चयन भएका छन् ।

उनीहरुले आउंदो अप्रिल २१ र २२ मा लन्डन मा हुन लागेको इनास युरोप स्तरीय छैठौं नृत्य र तेस्रो गायन प्रतियोगितामा यूके को प्रतिनिधित्व गर्दै भाग लिनेछन् । प्रतियोगितामा युरोपका झन्डै १ दर्जन देश हरुबाट आएका प्रतियोगीहरुले भाग लिने बताइएको छ ।

अडिसनमा गायनतर्फ कुल ९ जना सहभागी थिए । नृत्यतर्फ अडिसनमा छानिएका ३ जना बाहेकका ह्यारोको योगेश महत र प्लमस्टिडका आभास कुंइकेललाई प्रतियोगिताका दिन प्रस्तुति गर्ने मौका दिइने भएको छ ।

अडिसनमा गायनविधातर्फ चर्चित गायिकाहरु मिलन अमात्यका साथमा गायकहरु प्रमोद राज न्यौपाने र दीपक थापा तथा नृत्य विधामा कलाकार तथा निर्देशक सनम कुमार बैराग , कविता घर्ति मगर , विनोद चिपालु र सुनिता गौतमले निर्णयकको भुमिका गरेका थिए । निर्णायक टोलीमा अफिसियलको भुमिकामा भने सिम्मी पुन थिइन् ।

अडिसनमा लण्डनबाहिरबाट समेत घण्टौं यात्रा गरेर सहभागीहरु आएको भन्दै कार्यक्रमका संयोजक गायक प्रमोदराज न्यौपानेले खुशी व्यक्त गरे । लुकेर बसेका प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने गतिलो प्लेटफर्म कार्यक्रमले दिने विश्वास उनको छ ।

तस्बिर : विकेश राज बस्नेत