२८ बैशाख २०८१, शुक्रबार
Follow Us

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहो-याउने

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७४, शुक्रबार ०४:३९

काठमाडौं । वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहो-याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो । राष्ट्रपति निर्वाचन फागुन २९ गते हुँदैछ ।
संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ । गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोहो-याउने निश्चितप्राय रहेको एमालेका नेताले बताएका छन् ।
२३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बस्ने तयारी छ । वरिष्ठ नेता खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाललगायत नेता नरहेको बताइएको छ ।
प्रतिनिधिसभामा इलामबाट विजयी खनालले राष्ट्रपतिमा सुरुदेखि नै इच्छा देखाउँदै आउनु भएको छ । यस्तै, माओवादी नेता अमिक शेरचनले समेत राष्ट्रपतिमा इच्छा देखाइरहनु भएको छ ।