 nepalbritain news
                    nepalbritain news 
            
            नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै स्थगित भएको बलिउड सुपरस्टार सलमान खानको नेपाल कन्सर्ट अब वर्ष २०७५ को बैशाख पहिलो साता हुने भएको छ ।
नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो कुराको औपचारिक जानकारी दिएको हो । ‘दबगं द टूर नेपाल’ विशेष कारणले स्थगित भएको फेसबुकमा उल्लेख गरिएको छ ।
‘करिब १५ करोड लागतको यो कार्यक्रममा करिब १० करोड हाराहारी लगानी भइसकेको छ । बैशाखमा हुने कार्यक्रमको दिन तय भएपछि हामी सञ्चारमाध्यम, सोसल मिडियामार्फत जानकारी गराउने छौं ।’, अडिसीले फेसबुकमा लेखेको छ ।
फेसबुकमा टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न पाउने बताइएको छ । आयोजक संस्थाका अनुसार, टिकट बिक्रि जारी राखिने छ ।
कार्यक्रम हुने निश्चित भएको भन्दै केही हप्ता अगाडि सलमानका भार्इ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो ।
सलमानले आफू नेपाल आउन लागेको जानकारी आफ्नो आधिकारिक फेसबुक र ट्विटरबाट समेत दिएका थिए ।
सलमानले ‘द ब्याङ्ग टुर’ नेपालका लागि भनेर अग्रिम ५ करोड रुपैयाँ बुझिसकेका छन् भने, आयोजक संस्थाले करीब ५ हजारभन्दा बढी टिकट बिक्रि गरिसकेको छ ।