२८ बैशाख २०८१, शुक्रबार
Follow Us

उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७४, आईतवार १३:५५

काठमाडौं । काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ । रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन कार्य अत्यन्त न्यूनरुपमा हुन थालेपछि उपत्यकामा रगतको माग बढेको सोसाइटीले जनाएको छ ।

रगतको अभाव भएपछि सोसाइटीले उपत्यकाभित्र रगत संकलन कार्यमा सक्रिय युथ फर ब्लड, क्लब २५, उपत्यकाभित्रका सोसाइटीका जिल्ला शाखा, उपशाखा तथा अन्य सामाजिक संघसंस्था एवं स्वयंसेवी रक्तदातालाई रगत दानको कार्यक्रम बढाउन आह्वान गरिएको सोसाइटीका सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रकी निर्देशक डा मनिता राजकर्णीकारका अनुसार अहिले दैनिकरुपमा ३५० पिन्ट रगतको माग हुने गर्दछ, मागलाई धान्न केन्द्रलाई मुश्किल परिरहेको छ । “हिजोमात्र स्वयंसेवी रक्तदातालाई आह्वान गरी रगतको माग पूरा ग¥यौँ”, उहाँले भन्नुभयो ।

अर्काेतर्फ चैत महिनामा उपत्यकाका अस्पतालमा शल्यक्रिया बढी हुने हुँदा पनि रगतको माग बढ्ने गर्दछ ।

यसैगरी, भक्तपुरको दूधपाटीमा रहेको नेपाल रेडक्रसको रक्तसञ्चार सेवा केन्द्रमा पनि रगतको माग बढेको छ । केन्द्रका प्राविधिक प्रेम अधिकारीका अनुसार चैत १६ गते शुक्रबार मात्र ४०० पिन्ट रगत संकलन भएकामा ३५० पिन्ट आपूर्ति भएको थियो ।

सोसाइटीका जिल्ला सभापति मनोज थापाले रगतको आवश्यकता भई केन्द्रमा आउनेलाई रित्तोहात नफर्काइएको तर भनेजति एकैपटक भने दिन नसकिएको जानकारी दिनुभयो ।