२३ बैशाख २०८१, आईतवार
Follow Us

यो वर्ष आर्थिक वृद्धिदर ५ प्रतिशत भन्दा कम हुने

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७४, बिहीबार ०४:२५

काठमाडौं । एसियाली विकास बैंक एडीबीले नेपालमा यो आर्थिक वर्षको आर्थिक वृद्धिदर पाँच प्रतिशत भन्दा कम हुने अनुमान गरेको छ । एडीबीले एसिएन डेभलपमेन्ट आउटलुक २०१८ सार्वजनिक गर्दै नेपालमा यो आर्थिक वर्ष आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सिमित हुने अनुमान गरेको हो । गएको सेप्टेम्बरमा ४ दशमलव ७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको एडीबीले यसलाई संशोधन गरेर ४ दशमलव ९ प्रतिशत पु-याएको हो ।

‘अघिल्लो आर्थिक वर्षको तुलनमा यो आर्थिक वर्षमा मकै र कोदोजस्ता बर्खे बालीको उत्पादन वृद्धि हुने तर औद्योगिक वृद्धिदर कम हुने अनुमान गरिएको छ । प्रदेश र स्थानीय सरकारको सीमित अनुभव र क्षमता तथा संघीयताको निर्विघ्न कार्यान्वयनको चुनौतीमा केन्दित रहेको बताउँदै एडीबीका देशीय निर्देशक खामुदखानोभले नयाँ गठन भएका स्थानीय र प्रदेश सरकारको खर्चमा वृद्धि र कमजोर राजश्व परिचालन क्षमताका कारण बजेट घाटा बढ्ने आशंका व्यक्त गर्नुभयो ।

आउने आर्थिक वर्षमा औसत मुद्रास्फीति पनि ५.५ प्रतिशत पुग्ने, विप्रेषण आयको मन्द वृद्धि र बढ्दो व्यापार घाटासहति मध्यावधिसम्म बाह्य क्षेत्रको स्थायित्व जोखिममा रहेको जानकारी पनि उहाँले दिनुभयो । जलविद्युत् र होटल क्षेत्रमा क्रमिक रुपमा बढेको लगानीले सकारात्मक प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।