२४ बैशाख २०८१, सोमबार
Follow Us

दाङमा झाडापखाला फैलियो, एकै दिन ४ सय बढी बिरामी

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७५, आईतवार ०४:५२

घोराही । दाङको शान्तिनगर गाउँपालिकाको ३ र ४ मा झाडापखाला फैलँदा एकै दिन ४ सयभन्दा बढी बिरामी परेका छन् । एक्कासि बिरामीहरूको चाप बढेपछि उपचारमा समस्या भएको शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनले बताउनु भएको छ । राति बिरामीहरूको संख्या अझै बढ्न सक्ने उहाँले जानकारी दिनु भएको छ । बिरामी धेरै भएका कारण भुइँमै सुताएर उपचार गराइएको छ ।

अधिकांशको स्वास्थ्यचौकीमा उपचार भइरहेको र गम्भीर ४० जनालाई तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा रिफर गरिएको पुनले बताउनु भयो । हिजो बिहानदेखि सुरु भएको बिरामीको चाप रातिसम्म बढेपछि उपचारमा अन्य स्वास्थ्यचौकीहरूको पनि सहयोग लिइएको छ ।

शान्तिनगर स्वास्थ्यचौकी प्रमुख पुन, उपप्रमुख घनश्याम पाण्डेका साथै धनौरी स्वास्थ्यचौकी प्रमुख हरिशकुमार डाँगीलगायत १० जनाको टोली गाउँमै खटिएको छ । विद्युतको समस्या हुँदा राति गाउँमा उपचार गर्न कठिनाइ भइरहेको प्रमुख पुनले जानकारी दिनु भयो । रिफर गरिएका बिरामीहरूको उपचारमा अञ्चल अस्पताल तुलसीपुरका चिकित्सकहरू खटिएका छन् ।