३१ बैशाख २०८१, सोमबार
Follow Us

पुनःसंरचनाको प्रस्तावप्रति असहमति

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७३, शुक्रबार ०५:५९

बागलुङ । स्थानीय तहको पुनःसंरचनाप्रति जिल्लाका केही गाविसले असहमति दर्शाएका छन् । स्थानीयवासीको चाहनाविपरीत गाउँपालिका विभाजन गरिएकामा ती गाविसले विरोध गरेका हुन् । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले पठाएको प्रस्तावमा सिगाना, रायडाँडा, सुखौरा, पैंयूथन्थाप र राङखानी गाविस असहमत छन् । समितिले बागलुङमा दुई नगरपालिका र छ गाउँपालिकाको प्रस्ताव सङ्घीय आयोगमा पठाएको छ । उक्त प्रस्तावमा काठेखोला गाउँपालिकामा राखिएको सिगाना गाविस र जैमिनी गाउँपालिकामा राखिएको रायडाँडा गाविसले सेवा, सुविधा र भौगोलिक सुगमताका लागि बागलुङ नगरपालिकामा समावेश गर्न माग गरेका छन् ।

यस्तै, बरेङ गाउँपालिकामा प्रस्ताव गरिएका पैंयूथन्थाप र राङखानी गाविसले कुश्मीसेरा केन्द्र रहने जैमिनी गाउँपालिकामा समावेश गर्न माग गरेका छन् । यता बरेङ गाउँपालिकामा राखिएको सुखौरा गाविसले हरिचौर मजुवा केन्द्र रहने गलकोट नगरपालिकामा समावेश गर्न माग गरेको छ । सम्बन्धित गाविसका स्थानीयवासीले आयोगमा पठाइएको प्रस्ताव जनभावनाविपरीत भएको गुनासो गरेका छन् । अहिले पठाइएको प्रस्ताव आफूहरुलाई मान्य नहुने राङखानीका दल श्रीसले बताउनुभयो ।

श्रीसले प्रस्तावलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो । पाँचै गाविसका स्थानीयवासीले जनभावनाको कदर गरेर स्थानीय तहको पुनःसंरचना गर्न माग गरेका छन् । प्राविधिक समितिले पठाएको पुनःसंरचनासम्बन्धी प्रस्तावित खाकाप्रति यसअघि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरम नेपालले फरक मत राखेका थिए । असहमति राख्ने गाविसका प्रतिनिधिले प्राविधिक समितिसमक्ष ज्ञापनपत्र बुझाउँदै प्रस्ताव सच्चाउन माग गरेका छन् । जिल्लास्तरका नेताले आफ्नो राजनीतिक स्वार्थ अनुकूल निर्णय गरेको गुनासोसमेत जनस्तरमा उठ्ने गरेको छ ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका सदस्यसचिव ईश्वरलाल शाक्यले आयोगमा पठाइएको प्रस्ताव अन्तिम नभएको बताउनुभयो । उहाँले गाउँ तहबाट आएका सुझाव र मागलाई पुनः विचार गर्दै प्रस्तावित संरचना हेरफेर गर्न सकिने धारणा राख्नुभयो ।

यसअघि, समितिले विभिन्न चरणमा जिल्लाव्यापी रुपमा गरेको छलफल, परामर्शपछि दुई नगरपालिका र छ गाउँपालिकाको प्रस्ताव तयार गरेको थियो । प्रस्तावित नगरपालिकामा हालको बागलुङ नगरपालिका र गलकोट नगरपालिका छन् । यस्तै, गाउँपालिकामा जैमिनी गाउँपालिका, बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका, ढोरपाटन गाउँपालिका, बडीगाड गाउँपालिका र निशी खोला गाउँपालिका रहेका छन् ।