२५ बैशाख २०८३, शुक्रबार
Follow Us

अमेजनले बेलायतमा ड्रोनमार्फत सामान डेलिभरी सेवा सुरु गर्‍यो

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०८३, शुक्रबार ०४:२१

बेलायतमा पहिलो पटक अमेजनले ड्रोनमार्फत सामान डेलिभरी सेवा सुरु गरेको छ। यो सेवा हाल सीमित रूपमा डार्लिङ्टन, काउन्टी डरहम क्षेत्रमा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो।

यस सेवामार्फत ५ पाउन्ड (२.२ केजी) भन्दा कम तौलका सामानहरू—जस्तै सौन्दर्य सामग्री, ब्याट्री र केबलहरू—अमेजनको फुलफिलमेन्ट सेन्टरबाट करिब ७.५ माइल (१२ किमी) क्षेत्रभित्र छिटो डेलिभरी गरिँदैछ।

कम्पनीका अनुसार, अत्यन्त छिटो डेलिभरीप्रति ग्राहकहरूको माग बढ्दै गएकोले यो प्रविधिलाई क्रमशः विस्तार गर्ने योजना बनाइएको छ।

स्थानीय बासिन्दा रोब शिल्डले आफ्नो फार्ममा परीक्षणका लागि अमेजनलाई अनुमति दिएका थिए। उनले भने, “सुरुमा त यो नयाँ अनुभवजस्तो थियो, हामीले पेन, कागज, चकलेट—जे भेटियो त्यही अर्डर गर्थ्यौं।”

उनका अनुसार ड्रोनले जुत्ताको बाकसजत्रो प्याकेट करिब १२ फिट (३.६ मिटर) उचाइबाट घरअगाडि झार्ने गर्छ।

तर सबै स्थानीयहरू यस सेवाप्रति उत्साहित छैनन्। केहीले यसलाई उपयोगी माने पनि केहीले अझै परम्परागत डेलिभरी नै रोज्ने बताएका छन्। एक स्थानीय बासिन्दाले त ड्रोन डेलिभरीको अवधारणालाई “अलि अनौठो” भन्दै टिप्पणी गरेका छन्।

हाल परीक्षणकै चरणमा रहेको यो सेवा भविष्यमा विस्तार हुने अपेक्षा गरिएको छ।

धेरै पढिएको