लन्डन । लन्डन फेसन विक डिजाइनर तथा दिगो वातावरण मैत्री फेसनकी प्रणेता संयुक्ता श्रेष्ठ, ‘लन्डन वेडिङ अवार्ड्स २०२६’ को प्रतिष्ठित ‘वेडिङ बुटिक अफ द इयर’ फाइनालिस्टमा मनोनीत भएकी छन् ।
सार्वजनिक मतदान र उद्योग विशेषज्ञहरूको मुल्याङ्कनका आधारमा छनोट गरिएको यो मनोनयनले श्रेष्ठको फ्ल्यागशिप बुटिकलाई नवप्रवर्तन र सामाजिक उत्तरदायित्वको विश्वस्तरीय गन्तव्यको रूपमा स्थापित गरेको छ। सन् २०११ देखि लन्डन फेसन क्षेत्रमा काम गर्दै आउनुभएकी श्रेष्ठले यस्तो समयमा आफ्नो इको-फ्रेन्डली ब्रान्ड सुरु गर्नुभएको थियो जब वातावरण मैत्री (Sustainability) शब्द बजारमा खासै परिचित थिएन। आज उहाँ नेपाली मूलको पहिलो यस्तो डिजाइनर हुनुहुन्छ जसको डिजाइन १६ औं शताब्दीदेखिका १ लाखभन्दा बढी ऐतिहासिक सामग्रीहरू रहेको विश्वप्रसिद्ध ‘फेसन म्युजियम’ को संग्रहमा सुरक्षित राखिएको छ।
‘पेटा (PETA) लक्जरी भेगन वेडिङ अवार्ड’ विजेता श्रेष्ठले एक दशकभन्दा बढी समयदेखि विवाहको बजारलाई नयाँ परिभाषा दिइरहनुभएको छ। उहाँको “विवेकतामुलक सौन्दर्य” (Beauty with a Conscience) अभियानले विश्वभरका दुलहीहरूलाई आकर्षित गरेको छ, जो नैतिक श्रम मापदण्ड र वातावरण संरक्षणलाई प्राथमिकता दिने उहाँको विशेष ‘बेस्पोक सेवाका’ लागि लन्डनस्थित उहाँको बुटिकमा पुग्ने गर्छन्।
“दुलही समुदाय र क्षेत्रका विज्ञहरूबाट मनोनयनमा पर्नु मेरा लागि ठूलो सम्मानको कुरा हो। हाम्रो बुटिक एउटा यस्तो पवित्र स्थान हो जहाँ उच्च फेसन र वातावरणीय निष्ठाको मिलन हुन्छ। हामी हाम्रा ती ‘अदृश्य नायकहरू’ (दक्ष महिला शिल्पीहरू) लाई सशक्तीकरण गर्छौं, जसको परम्परागत सीप हाम्रा पहिरनहरूको मुटु हो। फेसन देख्न र लगाउनमा मात्र राम्रो भएर पुग्दैन, यसले मानिस र पृथ्वी दुवैका लागि राम्रो काम पनि गर्नुपर्छ।” — संयुक्ता श्रेष्ठ
यो मनोनयन श्रेष्ठको हालै सार्वजनिक भएको लन्डन फेसन विक डकुमेन्ट्री लगत्तै आएको हो, जसले उहाँको डिजाइन तयार पार्ने ९५ प्रतिशत दक्ष महिला शिल्पीहरूका मेहनतलाई उजागर गरेको थियो। वातावरण मैत्री, परम्परागत सीप, उचित ज्याला र महिला सशक्तीकरणलाई जोड दिँदै संयुक्ता श्रेष्ठ बुटिकले नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई एकै छानामुनि ल्याएको छ।
मे १३ मा हुने विशेष अवार्ड समारोहको तयारी भइरहँदा, यो मनोनयनले परम्परागत हस्तकला र दिगो भविष्य एकअर्कासँग अभिन्न रूपमा जोडिएका छन् भन्ने श्रेष्ठको मान्यतालाई थप बलियो बनाएको छ।




