८ भाद्र २०८२, आईतवार
Follow Us

रेशमा काठेपोल विस्थापन गरिदै

nepalbritain news
६ श्रावण २०७५, आईतवार ०५:०३

जिल्लाको काठेखोला गाउँपालिका–७ रेशले विद्युतिय जोखिम कम गर्न विद्युत प्रसासरण लाईनका काठेपोल विस्थापन अभियान थालेको छ । कम टिक्ने र हावाहुरी तथा बर्षाको समयमा जोखिम बढी हुने भएकाले काठका पोल विस्थापन गर्न थालिएको वडा अध्यक्ष प्रेम बहादुर लामिछानेले बताए । वडाले नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र बागलुङको सहयोगमा काठका पोलहरुको ठाउँमा फलामे पोल जडान गरेको छ ।
वडाभित्र रहेका ३ सय २२ काठका पोलमध्ये गत आर्थिक बर्षमा २ सय २२ फलामेपोल जडान गरिएको लामिछानेले जानकारी दिए । बाँकी रहेका १ सय काठेपोललाई पनि चालु आर्थिक बर्षभित्र नै व्यवस्थापन गर्ने गरी योजना बनाएको उनले बताए । ‘सुरुमा टोल–टोलमा विद्युत विस्तारका लागि काठेपोलको प्रयोग गरिएको थियो’ लामिछानेले भने ‘लागतका हिसाब महंगो पर्ने भएकाले फलामे पोल जडान गर्न सकिएको थिएन ।’ विद्युत विस्तारका बेला विद्युत प्राधिकरणले ठुलो संख्यामा फलामे पोल उपलव्ध गराउन नसक्ने भएकाले काठेपोलले काम चलाईएको वडा सचिव होमनाथ पौडेलले बताए । ‘स्थानियले आँफैले काठेपोलको व्यवस्था गरेर विद्युत विस्तार गर्नु भएको रहेछ’ पौडेलले भने ‘अहिले क्रमशः काठेपोलको बिस्थापन गरेर फलामे पोल जडान गर्न लागिएको छ ।’ विद्युत प्राधिकरणले उपलव्ध गराएको पोलको ढुवानी र जडान खर्च वडाबाट उपलव्ध गराएर काम गरिरहेको सचिव पौडेलले बताए ।
काठेपोल विस्थापन भएपछि बिद्युतिय जोखिम कम हुने वडा कार्यालयले जनाएको छ । ठुलो हावा हुरी चल्ने रेशमा बर्षातको समयमा बिद्युत चुहावट भएर सर्वसाधारणलाई करेण्ट लाग्ने जोखिम समेत रहेको थियो । यसैबीच, काठेखोला गाउँपालिका–७ रेशले शुक्रबार बागलुङमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४÷७५ मा गरेका कार्यहरुको र्सावजनिक गरेको छ । वडाले गत आर्थिक वर्षमा विभिन्न स्थानमा मोटरेवल पुल, विभिन्न सडकको स्तरोन्नती कार्यलाई तीव्रता दिएको छ । गत आर्थिक वर्षमा यस वडाअन्र्तगत भएका गरिब, विपन्न, एकल महिला तथा दलित समुदायका खरले छाएको छानो विस्थापित गरी जस्ता पाताले छाउने अभियान चलाएको थियो । हालसम्म १४ घरमा टिनको छानो हालिसकेको र अब केही दिनमै ३० घरमा टिनले छाउने गरी कार्य भैरहेको वडा अध्यक्ष प्रेमबहादुर लामिछानेले बताए । यहाँका करिब ७० घरमा खरको छानो हटाई जस्तापाताले छाउने योजनालाई प्रभाकारी बनाईएको छ । यस वडाले सरकारी कार्यालयहरुमा कम्प्युटर, ईन्टरनेट, जडान गरी सेवालाई सूचनामैत्री बनाउन सुरु गरेको छ ।
वडा कार्यलयहरुबाट हुने पञ्जिकरण तथा सुरक्षा डाटा अनलाईन माध्यमबाट सुरु गरेको छ । वडाका विभिन्न स्थानहरुमा विद्यालय भवन निर्माणलाई जोड दिएको छ । गाउँपालिका तथा वडाको रणनीति अनुसार कार्यलाई अगाडी बढाएको लामिछानेले बताए । खेल क्षेत्रलाई बढवा र प्रोत्सान दिन वडाका देउराली, धौलागिरी कोल्पाटा, बैनथाना, पिडाल्ना, तिङ्ग्रीङ, दामगाडे लगायतका स्थानहरुमा खेल मैदानको विस्तार गरेको वडाले जनाएको छ । त्यस्तै शिक्षा क्षेत्रमालाई प्रभावकारी बनाउन वडाभित्र रहेका विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका पदाधिकारी र निरीक्षकसँग अन्तरक्रिया तथा छलफल कार्याक्रम तथा तालिम संचालन गरेको वडा सचिव होमनाथ पौडेलले बताए ।
यस वडालाई उत्कृष्ट तथा उत्पादन योग्य वडा बनाउन जमिनलाई बाँझो राख्ने जग्गा धनीलाई अनिवार्य रुपमा हरियाली अभियानमा लगाउने उद्देश्यले योजना अगाडी बढाएको छ । यस वडाभित्र जग्गा बाँझो राख्नेलाई ३ गुणा कर लगाउने योजना बनाएको छ । वडालाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न आलु, अलैची, मकै, सुन्तला र बिउ उत्पादन तथा पशुपालनको क्षेत्रमा विकास गर्ने अभियान सुरु गरेको छ । गत आर्थिक वर्ष यहाँका १२ जना कृषकहरुलाई अनुदानमा मिनीटेलर वितरण गरी कृषिमा आधुनिक औजारको प्रयोगलाई प्राथमिकता दिएको छ । यस वडाभित्र पर्ने हरेक पर्यटकिय तथा धार्मिक स्थलहरुलाई प्रचार–प्रसार गर्न र संरक्षणका निम्ती योजना तय भएका छन् ।

धेरै पढिएको