१८ बैशाख २०८१, मंगलवार
Follow Us

आज खग्रास चन्द्रग्रहण, के गर्न हुन्छ, के हुँदैन

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७५, शुक्रबार ०७:२९

काठमाडौं । आज खग्रास चन्द्रग्रहण लाग्नेछ । ग्रहणको समयभन्दा नौ घण्टा अघि देखिनै समयलाई सुतक भनिन्छ भने ग्रहणको अवधिलाई पर्व भनिन्छ । ग्रहणको बेला तीर्थस्थान, भजनकिर्तन र दानको विशेष महत्व रहने गरेको छ भने त्यसअवधिभर खानपिन, मलमुत्र त्याग र कामक्रिडा गर्न नहुने मान्यता रहेको छ ।

सूतककालमा बच्चा, बूढा, गर्भवती स्त्री र आतूरलाई चाहिँ भोजन गर्न प्रतिबन्ध लगाइएको छैन । ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग र अधोगति, पिसाब गर्दा दरिद्रता, दिसा गरे अर्को जन्ममा किराफट्य्रंगााको जुनी र मैथुन गरे सुँगुरको जुनी प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । ग्रहणका बेला बच्चा जन्मिएमा पनि अरिष्टयोग लाग्ने हुँदा उचित समयमा स्वस्तिशान्ति गराउनुपर्दछ ।

सूतक शुरु भएपछि घरमा भएका अचार, दूध, दही आदि खाद्य पदार्थमा कुश, तुलसी वा दूबो राख्नुपर्छ । त्यसो गर्दा यिनीहरूलाई ग्रहणले दूषित गर्दैन । घरमा भएका सुक्खा पदार्थमा कुश राखिरहनु पर्दैन । सूतकको समयमा तथा ग्रहणका बेलामा दान र जप गरेको ठूलो पुण्य हुन्छ । पवित्र नदी तथा तलाउहरूमा स्नान गर्नुपर्छ । ग्रहण सकिएको भोलिपल्ट बिहान ब्राह्मणहरूलाई दान दिनुपर्छ ।

ग्रहणका बेला देवपूजा, मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ । तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ । ग्रहण सुरु हुन लाग्दा स्नान, सुरु भएपछि हवन, मोक्ष हुने समयमा दान र मोक्षपछि वस्त्रसहित स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान रहेको छ । ग्रहणकालमा गरिएको स्नान–दान विशेष पुण्यदायी हुने मानिन्छ ।

स्नान गर्ने जल शुद्ध हुनु आवश्यक हुन्छ । भूमिगत कुवा तथा इनारको जलभन्दा झरनाको जल, झरनाभन्दा तलाउ–पोखरी, त्यसभन्दा नदी, नदीभन्दा तीर्थको जल, त्योभन्दा पनि महानदीको जल, महानदीभन्दा गंगाजल र गंगाजलभन्दा समुद्रको जलमा स्नान गर्नु दस–दस गुणा अधिक पुण्यदायी हुने विश्वास रहेको छ ।