२७ बैशाख २०८१, बिहीबार
Follow Us

भारतीय प्रधानमन्त्री मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७५, बुधबार ०९:४७

काठमाडौं । यही आउँदो भदौ १४ र १५ गते आयोजन हुन गइरहेको बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी र पोखराको भ्रमण रद्द भएको छ । भारतीय दूतावास र नेपाल सरकार मोदीको लुम्बिनी र पोखरा भ्रमणको तयारीमा जुटिसकेका थिए । तर, अन्तिम समयमा आएर भ्रमण रद्द गरिएको छ ।

सुरक्षाको कारणले प्रधानमन्त्री मोदीको भ्रमण स्थगित गरिएको दूतावास स्रोतले जनाएको छ । यसअघि पनि लुम्बिनी र पोखराको भ्रमण गर्ने मोदीको तयारी विभिन्न कारणले स्थगित हुँदै आएको थियो ।

‘बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा मुलुकको प्रतिनिधि आएका हुन्छन् । सबैलाई नेपाल सरकारले सुरक्षा दिनुपर्ने हुन्छ । त्यही अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनु पर्ने हुन्छ,’ दूतावस स्रोतले भन्यो । त्यसले गर्दा समस्या देखिएको हुनाले भारतकै तर्फबाट नै यसपटक पोखरा र लुम्बिनीको भ्रमण नगर्ने जानकारी पठाएको बताइएको छ ।