१८ बैशाख २०८१, मंगलवार
Follow Us

नेपथ्य समूह फेरि लन्डनमा

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७५, बुधबार १९:१७

लण्डन । आगामी शनिबार, सेप्टेम्बर १ तारिकका दिन चर्चित सांगीतिक बेण्ड नेपथ्यले लण्डनमा प्रस्तुति दिने भएको छ । देश विदेशको यात्रा सकेर नेपाल पुगेको नेपथ्य आफ्नो सांगीतिक कोसेली लिएर बुधवार बिहान लन्डन हिथ्रो विमानस्थलमा उत्रिएको छ । नेपथ्यको टोलिलाई हिथ्रो एअरपोर्टमा स्वागत गर्न देब्रे इभेन्टका चन्द्र गुरुङ , नविन गुरुङ , शंकर श्रेष्ठ लगायतको टिम एयर पोर्ट पुगेको थियो ।

नेपथ्यको एकल प्रस्तुति रहने साँझको सांगीतिक माहोल पर्खिएर बसेका नेपाली संगीत प्रेमीहरु नेपथ्यले नयाँ कोसेली पनि प्रसुत गर्ने बताईएकोले उत्साहित रहेको छ ।

नेपथ्यको यो बेलायत टुर तेश्रोपटक बेलायतमा रहेको छ । पाँच वर्षअघि वेम्ली एरिनामा ऐतिहासिक प्रस्तुती दिएको र त्यसैलाई पछ्याउँदै तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि ओ टु एकेडेमीमै आगामी शनिवार प्रस्तुति दिनेभएको छ । भर्खरै अमेरिकाको बोस्टन र टेक्ससपछि जापानको टोकियो डोममा नेपथ्यले भब्य प्रस्तुती दिएको थियो ।

शनिवार प्रसुति रहने ओ टु एकडेमी ब्रिक्सटन हलमा बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुले आफूलाई उभ्याएर प्रस्तुत गरिसकेका छन् । त्यसैगरि विश्वप्रसिद्ध नामहरु एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता अरु थुप्रै नामहरु ओ टु एकेडेमीसँग जोडिएको मानिन्छ । तालको पानी , यो जिन्दगी , सा कर्णाली जस्ता चर्चित गीतहरु गाएर सदाबहार रुपमा आफ्नो सांगीतिक उचाई कायम गरेको नेपथ्य बन्ड लोक भाका र कुना कन्दराका कथा व्यथाहरुलाई सहज रुपमा रक र आधुनिक शैलीमा युवा पुस्तालाई पस्किन सफल मानिन्छ ।

बेलायतको शोलाई ‘देब्रे इभेन्ट्स्’ का चन्द्र गुरुङले आयोजना गर्न लागेका हुन् । सँधैझैँ यसपटक पनि लण्डनमा अमृतलाई उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने जनाइएको छ ।
३५ र ४० पौण्ड टिकट मूल्य रहेको सांगीतिक कार्यक्रममा मिस नेपाल अर्थ २०११ तथा टिभी प्रस्तोता साहना बज्राचार्यले कार्यक्रमको होस्ट गर्ने आयोजक देब्रे इभेन्टकी मिडिया संयोजक सरला थापाले जानकारी दिईन ।